News

Oct 11, 2010

माओवादीको हङकङ जिल्ला कमिटिमा चर्कियो विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, असोज २५- एकीकृत नेकपा माओवादीको हङकङ जिल्ला कमिटिमा नयाँ नेतृत्व चयन गर्ने क्रममा चर्को विवाद भएको छ। आइतबार भएको पहिलो जिल्ला भेलामा सचिवमा प्रस्ताव गरिएका पूर्ण लोकसमलाई सोही पदका दावेदार पवन बस्नेत पक्षले अस्वीकार गरेपछि विवाद बढेको हो। भेलाले २५ सदस्यीय जिल्ला कमिटि गठन गरेपछि संस्थापन पक्षले सचिवमा लोकसम तथा सहसचिवमा पवन बस्नेत र जेबी ओख्रमलाई प्रस्ताव गरेको थियो। तर 'नेतृत्व छनोट प्रक्रियामा जनमतको कदर नभएको' भन्दै आफू उक्त पदमा नबस्ने जानकारी दिएर बस्नेत पक्ष युनलोङमा सञ्चालन भइरहेको भेलाबाट आइतबार राती बाहिरिएको थियो। आफूसँगै जिल्ला कमिटिका १५ सदस्य बाहिरिएको दावी गर्दै बस्नेतले भने- “हामीले पार्टी छाडेको वा भेला बहिस्कार गरेको होइन तर संस्थापन पक्षले सहमतीको पहल नगरे अर्को कमिटी बनाएर जान बाध्य हुनेछौँ।” लोकसमले चाहीँ सहमतिका लागि प्रयास भइरहेको बताउँदै '४–५ सदस्यले भेला छाडेर हिंडे पनि वैचारिक विवाद नभएकाले सहमती हुने' दावी गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई पटक हङकङ आउँदा उक्त पार्टी प्रवेश गर्नेहरूको संख्या ठूलै भए पनि अहिलेको विवाद नयाँ र पुरानाबीचको होइन। जिल्ला कमिटिमा छनोट भएका सदस्यहरू नै भेलाबाट बाहिरिएपछि केन्द्रिय प्रतिनिधिका रुपमा आएका माओवादी पोलिटब्यूरो सदस्यद्वय इन्द्रमोहन सिग्देल र कुलप्रसाद केसीले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेका छन्। हङकङमा करिब ६० जना सदस्य रहेको माओवादीको जिल्ला भेलामा ५० जना उपस्थित थिए। विवादकै कारण भेलामा आएकामध्ये आधा सदस्यलाई राखेर जिल्ला कमिटी गठन गरिएको छ।

No comments: