News

Oct 10, 2010

तीन दलका शीर्षस्थ नेताको बैठक निष्कर्ष विहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २४ - राजनीतिक निकास खोज्ने प्रयासका क्रममा भएको मुख्य तीन दलका शीर्षस्थ नेताको बैठक निष्कर्ष विहीन भएको छ । सिंहदरबार स्थित माओवादीको संविधान सभादलको कार्यालयमा आइतबार बिहान बसेको बैठकमा दलहरू आ-आफ्नै अडानमा कायम रहेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकमा माओवादी र एमालेले कांग्रेसलाई प्रधानमन्त्रीको उमेद्धारी फिर्ता लिन आग्रह गरे भने कांग्रेसले प्याकेजमा सहमति नभएसम्म उम्मेवारी फिर्ता नलिने अडान कायम राख्यो । बैठक पछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संचारकर्मीसँग कुरागर्दै आफूहरूले उम्मेदवारी फिर्ता लिएर सहमतिको लागि छलफल अगाडि बढाउन आग्रह गरेको बताए । कांगे्रस नेता अर्जुननरसिंह केसीले प्याकेजमा सहमति खोज्न आग्रह गरेपनि दुईदल गम्भीर नभएको बताए । यसअघि पटकपटक वार्तामा समेत उम्मेदवारी फिर्ता पहिले की प्याकेज सहमति पहिले भन्ने बीच दलहरूमा विवाद भएको थियो । यसैबीच प्रधानमन्त्रीका लागि आज संसदमा १२ औं पटक निर्वाचन हुन लागेको छ । दलहरुबीच सहमति नजुटकाले आजको निर्वाचन पनि निरर्थक हुने निश्चित छ । प्रधानमन्त्रीको दौडमा काँग्रेस नेता रामचन्द्र पौडेल एक्लै छन् । तर माओवादी,एमाले तथा मधेशवादी दलहरु निर्वाचनमा भाग नलिने र तटस्थ बस्ने रणनीति लिएका कारण उनले आवश्यक बहुमत पुर्‍याउन सकेका छैनन् ।

No comments: