लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजखान्दान जंगली जनावरको मासुको सोखिन त हुने नै भयो । तर, आश्चर्य १ पाँच-सातजनालाई मासु पुर्याउन एक सय साठीजना सरकारी सिकारीको टोली थियो- दरबारमा वर्षौं काम गरेका सिकारीहरूले नै खुलासा गरेका छन् ।राजा, रानी, हजुरआमा र नाति-नातिनालाई जंगली जनावरको मासु पुर्याउन दरबारमा सिकारी अड्डा नै थियो । अड्डाका कर्मचारीको कामै थियो- जरायो, मृग, बँदेल, कालिज, तित्रा, बाह्रसिंगा, चित्तल, रतुवालगायतका वन्यजन्तु मारेर मासु दरबारमा टक्र्याउने । यसका लागि उनीहरू राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षभित्र गएर सिकार गर्थे । पूर्वराजा र राजपरिवारका सदस्यहरू कहिलेकाहीँ त आफैं सिकार खेल्न पनि जान्थे । 'उहाँहरू रमाइलो मानी-मानी सिकार खेल्नुहुन्थ्यो, समस्या आए हामी अघि सथ्र्यौं,' दरबारको हवल्दार पोस्टका तत्कालीन सिकारी कुमार विष्टले नयाँ पत्रिकासित भने ।०४४ सालमा सिकारीको दर्जामा दरबारमा जागिर खान पुगेका विष्टका अनुसार तत्कालीन राजपरिवारका सदस्यको निर्देशनमा सिकारीहरू गोकर्ण, नागार्जुन, शिवपुरी, गोदावरी, धुन्चे, नुवाकोटदेखि चितवन र बर्दियासम्म पुग्थे । 'जनावरको मासु ल्याएर दरबारमा टक्र्याउँथ्यौँ,' विष्टले भने ।अर्का एक सिकारीका अनुसार राजपरिवारमा हुने साप्ताहिक भेटघाट र भोजमा वन्यजन्तुका विभिन्न परिकार अनिवार्य थिए । यसैगरी, विदेशीहरूको सम्मानमा दरबारबाट दिइने रात्रिभोजमा पनि यस्तै परिकार बन्थे । 'राजा महेन्द्र त सिकारका निक्कै सोखिन थिए, संगतले होला रत्न पनि सिकारमा निकै चाख लिन्थिन्,' उनले भने, 'रत्न सिकार खेल्न सिकारीका साथ टाढा-टाढा पुग्थिन् । पूर्वराजा ज्ञानेन्द्र, उनका छोरा पारस तथा वीरेन्द्र पनि सिकारका लागि सोखिन भएको सिकारीहरू बताउँछन् । पूर्वराजा र तिनका परिवारलाई जुन समयमा मासुका नौलो परिकार खान मन लाग्थ्यो, सिकारी अड्डालाई निर्देशन आउँथ्यो, सिकारीहरू राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षतिर दगुर्थे । यही प्रयोजनका लागि नागार्जुन, गोकर्ण हुँदै नवलपरासी र चितवनका जंगल-जंगल कुदेको सिकारी भक्तबहादुर तामाङले बताए । उनका अनुसार द्वन्द्व चर्किएपछि ०५५ सालदेखि सिकार गर्ने क्रम पनि घटेको थियो । अर्का सिकारी मदन खड्काले त जंगलभित्र छिरेर मात्र होइन, बाहिरै पनि वन्यजन्तुको सिकार गरेको बताए । 'बस्तीमा आएर दुःख दिने बाघ, बँदेल पनि मारियो ।' यस्तो मासु पनि दरबारमै जाने गरेको सिकारीहरूको भनाइ छ । तत्कालीन राजपरिवारका लागि सिकार टक्र्याउने जिम्मेवारी पाएको सिकारी अड्डा अझै पनि नारायणहिटीभित्रै छ । अड्डाको मातहतमा प्युठदेखि अमलदार, हवल्दार, जमदार, मुखिया, खरदार, सुब्बा र शाखा अधिकृतस्तरका कर्मचारी थिए । नासु चन्द्रशेखर महर्जन अझै पनि अड्डा कुरेर बसेका छन् ।शाखा अधिकृत प्रवीणमान महर्जनलगायतका कर्मचारीलाई भने वन विभागले विभिन्न कार्यालयमा खटाएको छ । 'दरबारमा एक सय ६० सिकारीको दरबन्दी थियो, त्यसमध्येका ७५ सिकारी अहिले विभागकै मातहतमा छन्,' विभागका एक अधिकारीले भने । नारायणहिटीभित्रको अड्डा खारेज गर्न वन विभागले फाइल सामान्य प्रशासन मन्त्रालयमा पठाए पनि मन्त्रालयले कारबाही अगाडि नबढाएको वन्यजन्तु विभागको भनाइ छ । 'सिकारीको रूपमा जागिर खान कुनै औपचारिक प्रक्रिया थिएन, दरबार निकट व्यक्तिहरूको सोर्सफोर्सका आधारमा सिकारीहरूको नियुक्ति हुने गरेको थियो,' सिकारी र वन विभागका कर्मचारी यसै भन्छन् ।