News

Mar 31, 2009

अनमिनको म्याद नसकिँदै नेपालको शान्ति-प्रक्रिया टुंगोमा पुग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रसंघीय मिसन अनमिनको म्याद नसकिँदै नेपालको शान्ति-प्रक्रिया टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अनमिनको म्याद मध्यसाउनमा सकिँदै छ । 'हामी शान्ति-प्रक्रियाको अन्तिम चरणमा छौँ, चार-पाँच महिनामा तार्किक निष्कर्षमा पुग्नेछौँ,' दुईदिने भ्रमणमा नर्वे आएका प्रधानमन्त्री प्रचण्डले ओस्लोको होटल कन्टिनेन्टलमा नेपाली तथा विदेशी पत्रकारहरूबीच भने, 'हामी द्वन्द्व समाधानका लागि दुनियाँलाई र खासगरी दक्षिण एसियालाई उदाहरण प्रस्तुत गर्दै छौँ ।'प्रचण्डले संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने दाबी पनि गरे । 'हाम्रो संविधानसभा हदैसम्म समावेशी छ, समावेशी सभाले सफल संविधान बनाउँछ,' प्रचण्डले दाबी गरे । नर्वेका विकास तथा वातावरणमन्त्री एरिक सोल्हेइमले आफ्नै पहल र आफ्नै शैलीमा नेपाली दलहरूले शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन लागेको भन्दै बधाई पनि दिए । 'नेपाली शैली अब द्वन्द्वग्रस्त अरू देशका लागि उदाहरण बन्नेछ,' उनले भने । मन्त्री सोल्हेइमले नेपालको विकास र खासगरी जलविद्युत्मा नर्वेको लगानी बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । नर्वेको लगानीमा नेपालमा खिम्ती जलविद्युत् आयोजना सञ्चालित छ भने थप लगानीका बारेमा यसपालिको भ्रमणमा पनि छलफल भइरहेको छ । प्रचण्डले मंगलबार ओस्लोनजिकैको सल्बर्गफस जलविद्युत् आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले नर्वेजियन समकक्षी जेन्स स्टोलटेन्बर्गसँग भेटवार्ता गरिसकेका छन् । भेटमा नर्वेले नेपालको विकासमा गर्दै आएको सहयोग अझ बढाउने समझदारी बनेको छ । समझदारीपत्रमा नेपालका परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य र समकक्षी एटेल लेइकभोलले हस्ताक्षर गरेका छन् । प्रचण्डको टोली बुधबार फिनल्यान्ड पुग्नेछ । उनले त्यहाँ राष्ट्रपति तारजा हालोनन, प्रधानमन्त्री माट्टी वान्हानेन र अन्तर्राष्ट्रिय व्यापार तथा विकासमन्त्री पाभो भारिननसँग भेटवार्ता गर्ने कार्यक्रम छ । फिनल्यान्डका नेताहरूसँग नेपाली प्रधानमन्त्रीले शान्ति-प्रक्रिया, जलविद्युत् र विकास सहयोगका विषयमा कुरा गर्नेछन् ।

No comments: