News

Mar 19, 2009

करिब एक सय नेपाली महिला भारतको बहराइच जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लागूपदार्थ ओसारपसारको अभियोगमा करिब एक सय नेपाली महिला भारतको बहराइच जेलमा परेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण प्रलोभनमा परेर तस्करीमा लागेका उनीहरू जेल परेका हुन् । नेपाल—भारत सुरक्षा अधिकारीको हालैको बैठकमा सहभागी बहराइचका डिएम सुवास शर्माले तस्करीको अभियोगमा नेपाली महिला जेलमा परेको खुलासा गरेका हुन् । ती महिलाहरू तस्करीमा प्रयोग मात्र भएको उनले बताए ।बहराइच जेलमा परेका महिला नेपालगन्ज—रुपैडिहा र बर्दियाको सीमा क्षेत्रबाट विभिन्न समयमा पक्राउ परेका हुन् । पक्राउ परेका सबैजसो मध्यपश्चिमाञ्चलको पहाडी जिल्लाका छन् । डिएम शर्माका अनुसार अभियोग लागेका कतिपय महिला अदालतमा धरौटी रकम तिर्न नसक्दा जेलमा बस्न बाध्य छन् । कैद भुक्तानी गरिसकेका कतिपय महिलाको जमानी लिने कोही नभएकाले उनीहरू मुक्त हुन पाएका छैनन् । यसैबीच, भारतमा लागूपदार्थ पुर्‍याएबापत एकदेखि पाँच हजार रुपैयाँसम्म पाउने प्रलोभनमा महिलाले लागूपदार्थ ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले गुप्तांगमा लागूपदार्थ लुकाएर ओसारपसार गर्ने गरेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख विश्वजित गौतमले जानकारी दिए । 'गुप्तांगमा राखेर लागूपदार्थ तस्करी गर्छन्, चेकजाँच गर्नै समस्या छ,' उनले भने । सुरक्षा बैठकमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी गणेश खत्रीले जेलमा परेका नेपाली महिलालाई भारतले नेपाल फिर्ता पठाउन चाहेको बताए । खत्रीले भने, 'लागूपदार्थ ओसारपसारमा लागेका, सामान्य अपराध गरेका महिलालाई उनीहरूले नेपाल फिर्ता पठाउन चाहेका छन् ।' जेल परेका महिलालाई फर्काउने प्रक्रिया पनि थालिएको उनले जानकारी दिए ।

No comments: