News

Mar 23, 2009

पोप बेनिडिक्टले कन्डमविरोधी प्रवचन र आलोचना गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोप बेनिडिक्ट अपार शक्ति र प्रभाव भएका मानिस मानिन्छन् । जब उनी 'एड्स फैलिन नदिन कन्डम प्रयोग नगर' भन्छन्, अरबौं मानिसमा यसको बलियो प्रभाव पर्छ । एड्सबाट सबभन्दा पीडित अफ्रिकीहरू हुन् । २० प्रतिशत अफ्रिकीहरू रोमन क्याथोलिक धर्म मान्छन् । अन्यत्रभन्दा क्याथोलिक धर्म अफ्रिकामा ह्वात्तै फैलिएको छ । चार वर्षअघि संसारका करिब एक अरब क्याथोलिकका धार्मिक नेता भएपछि उनको यो पहिलो अफ्रिका भ्रमण हो । र, यो भ्रमणको उनको मिसन कन्डम-निन्दा हो भन्ने देखियो । दुई करोडभन्दा बढी अफ्रिकीहरू एड्सबाट संक्रमित छन् । यो परिस्थितिमा पोपले कन्डमविरोधी प्रवचन दिए । गत हप्ता क्यामरुन जानुअघि उनले पत्रकारहरूसँग भने, 'यो ज्यानमारा महामारीबाट बच्ने उपाय कन्डम होइन, वैवाहिक जीवनप्रतिको निष्ठा र सच्चरित्र हुन् ।' चर्चको परम्परागत शिक्षा एवं उपदेश एड्ससँग लड्नका लागि सबभन्दा शक्तिशाली हतियार भएको पोप बेनेडिक्टले दोहोर्‍याई-तेहेर्‍याई भने ।पोपको प्रभाव र शक्तिबाट सचेत मानिसले उनको कडा आलोचना गरेका छन् । अफ्रिकाजस्तो गरिबी र एड्सबाट क्रमशः ध्वस्त भइरहेको महादेशमा पोपको यो कन्डमविरोधले अरू बढी समस्या थप्ने उनीहरूको तर्क छ । दक्षिण अफ्रिकाको टि्रटमेन्ट एक्सन क्याम्पेनमा कार्यरत रेबेका होड्स पोपको कन्डम-निन्दाका चर्का आलोचकहरूमध्ये एक हुन् । उनले प्रतिक्रिया दिएकी थिइन्, 'यस्तो लाग्छ, पोप बेनेडिक्टलाई अफ्रिकी जनताको स्वास्थ्यसँग कुनै सरोकार छैन ।' पोपको कन्डमविरोधी टिप्पणीलाई उनले 'अनौठो', 'अज्ञानपूर्ण' र 'खतरनाक' भनेकी थिइन् । पोप बेनेडिक्टको उपदेशमा उनीभन्दा अघिका पोप जोन पोल द्वितीयको प्रतिध्वनि सुनिन्छ । जोन पोल कथित 'यौनाशक्तिको त्याग'को वकालतका कारण नराम्ररी आलोचित भएका थिए । अझ, एड्स फैलाउन जिम्मेवार भएको आरोपसमेत उनीमाथि लागेको थियो ।पोप बेनेडिक्टले भेटिकन दरबार सम्हाल्नासाथ अफ्रिकी विशपहरूलाई भनेका थिए कि गर्भनिरोधक साधन प्रयोग गर्ने प्रवृत्तिले यौनसम्बन्धी नैतिकता धराशयी भइरहेको छ । उनका अनुसार अफ्रिकी समाजको बनोट सम्बन्धविच्छेद, गर्भपतन, वेश्यावृत्ति र गर्भनिरोधी मानसिकताका कारण संकटमा परेको छ ।युगान्डामा विवाहित जोडीको निष्ठा, यौनाशक्तिको त्याग र आवश्यक परेको खण्डमा कन्डम प्रयोग गर्न सकिने नियम मिलाइएर एचआइभी फैलिन नदिने नीति प्रयोग गरिएको छ । कन्डमप्रति उदार तथा व्यावहारिक दृष्टिकोण राख्ने केही वरिष्ठ क्याथोलिक धर्माधिकारीहरू पनि छन् । उनीहरूको तर्कअनुसार जीवनको सिर्जना रोक्ने प्रयोजनका लागि कन्डम प्रयोग गर्नु पाप हो, तर रोगबाट बच्नका लागि यसको प्रयोग गर्नु जायज नै ठहर्छ । अफ्रिकामा एड्ससम्बन्धी काम गर्ने संघ/संस्थाका अनुसार कन्डम प्रयोग गर्न नहुने सांस्कृतिक मान्यता नै एड्सविरुद्धको लडाइँमा उनीहरूको सबभन्दा ठूलो चुनौती हो ।

No comments: