News

Mar 26, 2009

चारजना बालकलाई बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी/ सप्तरी राजविराजस्थित फिङ्गर्स चिप्स बनाउने उद्योगमा चारजना बालकलाई बिक्री गर्ने दुईजनालाई सुनसरीको इनरुवाबाट प्रहरीले पक्राउ गरेको छ । इनरुवाका स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले मोरङको कटहरी-५ कदमगाँछीनिवासी बद्रीनारायण कामत र सो उद्योगमै कार्यरत रघुनन्द साहलाई प्रक्राउ गरेको हो । कामतले राजविराजको ओम फिङ्गर्स चिप्स उद्योगमा मोरङकै कटहरी घर भएका बालक अजयकुमार मुसहर, चन्दनकुमार मुसहर, महेश मुसहर र सूर्य मुसहरलाई बिक्री गरेका थिए । उनले ती बालकलाई उद्योगमा काम लगाउने सर्तमा प्रतिबालक १५ हजार लिएर सो उद्योगमा बिक्री गरेको पीडित बालकले बताएका छन् । कामतलाई बालक बिक्री गर्ने वातावरण सोही उद्योगमा कार्यरत रघुनन्द साहले मिलाएका थिए । उद्योगबाट बाहिर निस्कन नदिई जोखिमपूर्ण काम लगाइएपछि उनीहरू राजविराजबाट भागेर पैदल हिँड्दै सुनसरीको इनरुवा आएका थिए । उनीहरू भागेको जानकारी उद्योगले कामतलाई दिएपछि कामत र सो उद्योगका साहले उनीहरूको पिछा गरेका थिए । पिछा गर्ने क्रममा इनरुवाको सुनसरी खोलानजिक पैदल हिँड्दै गरेको अवस्थामा चारैजना बालकलाई फेला पारेपछि दुईजनाले निर्घात कुटपिट गरेका थिए । कुटपिट गरेको देखेर स्थानीय बासिन्दाले ती बालकलाई सोधपुछ गरेपछि उनीहरू सो उद्योगमा बिक्री गएको खुलासा भएको सुनसरीका अधिकारकर्मी राजेन्द्र पोख्रेलले बताए । स्थानीय बासिन्दाले इनरुवामा रहेका मानवअधिकारकर्मीलाई खबर गरेका थिए ।

No comments: