News

Mar 23, 2009

शिल्पा सेठ्ठीलाई जातीय गाली गर्ने जेड गुडीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ वर्षीया जेड गुडी अर्थात् रियालिटी शो 'बिग ब्रदर'की लोकप्रिय कलाकार । भारतीय नायिका शिल्पा सेठ्ठीलाई बिग बोसमा जातीय गाली गरेकी र पछि माफ मागेकी जेड नमरुन्जेल मिडिया उनको वरिपरि नै थियो । आइतबार मर्दा पनि उनी मिडियाकै अगाडि थिइन् । आफ्नो मृत्यु सार्वजनिक गरेर आर्थिक उपार्जनको अवसर निकालिन् उनले । डेन्टल नर्स हुँदै बेलायतको प्रसिद्ध रियालिटी स्टार बन्न पुगेकी जेड गुडीको आइतबार निधन भएको हो ।सर्भिकल क्यान्सरबाट थलिएकी उनले केही साताअगाडि मात्र भनेकी थिइन्, 'म सधैं क्यामेराअगाडि बाँचेँ । सायद क्यामराअगाडि नै मर्छु होला ।'बिग ब्रदरमा प्रस्तुतिका कारण उनी जति लोकपि्रय थिइन्, त्यति नै नरुचाइएकी कलाकार पनि । सन् २००२ को बिग ब्रदरमा उनी चौथो मात्र भइन् । तर, उत्ताउलो स्वभावका कारण उनी प्रथम स्थान जित्नेभन्दा पनि प्रसिद्ध भइन् । एकाएक उनी सेलिब्रेटी भएर निस्किइन् ।उनले बिग ब्रदरको सफलताबाट ८० लाख पाउन्ड कमाउन सफल भइन् । उनले अटोबायोग्राफी लेखिन्, टेलिभिजन कार्यक्रम गरिन्, आफ्नै परफ्युम र फिटनेस डिभिडी पनि बनाइन् । तर, उनको क्षणिक प्रसिद्धि केही वर्षभित्रै सेलायो । भारतीय नायिका शिल्पा सेठ्ठीलाई जातिवादी गाली गरेपछि त उनलाई 'दादा' र जातिवादीको संज्ञा दिन थालियो । भारतीय संस्करणको रियालिटी शोमा जेडलाई क्यान्सर लागेको पहिचान भयो । उनले टेलिभिजन शोमा नै आफूलाई क्यान्सर लागेको बताइन् । चिकित्सकले बाँच्न केही साता मात्र बाँकी छ भन्ने जानकारी दिएपछि उनको चर्चाको जीवन टुंगियो । तर, उनको मृत्युनिकट अवस्थाले सबैको ध्यानाकर्षण गर्‍यो । कतिपयले आफ्नो मृत्युकथालाई उनले लिलाम गरेको आरोप लगाए । तर, सबैको विचार भने यस्तो छैन । मृत्युपछि छोराहरूको भविष्य सुनिश्चित गर्ने उनको प्रतिबद्धता र वीरतादेखि धेरै प्रभावित भए । अरूले के भन्छन् भन्ने वास्ता गर्दिनथिन् जेड । 'मैले गरेको काम केही मानिसले मन पराउँदैनन् । तर, यस अवस्थामा अरूले मलाई के भन्छन् भनेर म ध्यान दिन्नँ,' मृत्युशय्यामा बसेकी जेडले भनेकी थिइन् । मृत्युको समयसम्म हाँसेरै मृत्युवरण गर्ने जेडको वास्तविक जीवन त्यति राम्रो रहेन । ५ जुन, १९८१ मा दक्षिण लन्डनमा जन्मिएकी जेडको जीवन संर्घषमै बित्यो । उनी दुई वर्षकी हुँदा नै उनकी आमाले बाबुलाई घरबाट निकालिन् । बाबुले सिरानमुनि बन्दुकहरू लुकाएर राखेका थिए । बाबु एन्ड्रयु सानोतिनो अपराधी नै थिए । पाँच वर्षको हुँदा त जेडले आमाको स्याहार गर्न थालिन् । आमा लागूपदार्थ दुव्र्यसनको कुलतमा थिइन् । मोटरसाइकल दुर्घटनामा आमाको हात चल्न छोडेपछि सबै कामको जिम्मा फुच्ची जेडमाथि आइलाग्यो । एक वर्षपछि फ्ल्याटमा आगलागी भएपछि उनले आमालाई घिसारेर बाहिर निकालिन् । मैनबत्तीमा आमा-छोरी बोर्डगेम खेल्दा दुवै भुसुक्कै निदाएपछि आगलागी भएको थियो । लागूपर्दाथको दुव्र्यसनमा लठ्ठिएर आमाले जेडलाई पिट्थिन् । आमाको कुटाइ तथा दुव्र्यवहार सहन नसकेर उनी कयौँपटक बालगृहमा समेत पुगेकी थिइन् । आमालाई लागूपदार्थको दुव्र्यसनबाट छुटाउन उनले आमाकै अगाडि कोकिन खाइन् । तैपनि, आमा सुधि्रनन् । 'एकपटक मैले आमालाई म वा लागूपदार्थ एउटा रोज्न भनेँ । आमाले लागूपदार्थ रोजिन्,' आफ्नो जीवनकथामा जेडले लेखेकी छिन् । जीवनको एक समयमा जेडकी आमाले 'क्लिपर'को काम गरिन् । उनी यौनकर्मी भएजस्तो नाटक गर्थिन् । तर, ग्राहकको पैसा थुतेर भाग्ने गर्थिन् उनी । आमाको यस पेसाले जेडले पढ्न पाइनन् । बिग ब्रदर रियालिटी शोमा उनको शिक्षाको कमी प्रस्ट रूपमा झल्कन्थ्यो । अपदस्थ इराकी शासक सद्दाम हुसेनका बारेमा अनभिज्ञ थिइन् उनी । त्यसैले सद्दाम हुसेन मुक्केबाज भएको दाबी गरेकी थिइन् । पोर्चुगलका मानिसले कुन भाषा बोल्छन् भन्ने थाहा नभएको पनि बिग ब्रदरमा छर्लङ्ग देखिन्थ्यो । आफूले राम्रोसँग पढ्न नपाएकाले जानकारीको कमी भएको भन्न उनी लजाउँदिनथिन् । उनले स्कुल छोडेर २००२ देखि जेड डेन्टल नर्सको काम गर्न थालेकी थिइन् । आफ्नो यस्तै कठिन जीवनबाट मुक्ति पाउन उनले बिग बोस नामक रियालिटी शोमा सहभागिताका लागि अडिसन दिएकी थिइन् र छनोट भएर चर्चितसमेत भइन् ।

No comments: