News

Mar 20, 2009

अभिनेत्री रेखा थापा अब निर्देशनमा समेत हात हाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रेखा थापा अब नायिकाका रूपमा मात्र सीमित रहिनन् । निर्देशनमा समेत हात हाल्ने भएकी छिन् । भन्छिन्, 'कति रोनाधोनामै सीमित हुने, अब त आफैंले निर्देशन गर्नुपर्ने भो ।' उनलाई थाह छ, सधैं हिरोइन बन्न गार्‍हो छ । 'फिल्म निर्देशक बन्ने मेरो सोच पुरानै हो, अब यसलाई निरन्तरता दिन्छु,' उनी भन्छिन् । होम प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ फिल्म कसले चोर्‍यो मेरो मनमा उनी अभिनेत्रीसहित निर्देशक सहायक भएर देखिने भएकी छिन् । उनको अगाडि 'क्याप्टेन' छन्, निर्देशक सवीर श्रेष्ठ । केही फिल्ममा रेखासँगै काम गरेका सवीरले रेखामा निर्देशकको गुण भेटेको बताए । 'रेखाजी फिल्मको स्त्रिmप्ट, गीत रेकर्डिङ, लोकेसन हेर्नेदेखि कलाकार छनोट सबै पक्षमा निकै सक्रिय भएर लाग्नुभएको छ । 'उहाँमा फिल्म निर्देशन सिक्ने चाहना तीव्र छ । मैले पनि सक्दो सहयोग गरिरहेको छु,' कसले चोर्‍यो मेरो मनको निर्देशनको जिम्मा पाएका सवीर भन्छन् । वैशाखदेखि सुटिङ सुरु हुने भनिएको रेखाको फिल्ममा रेखाको नाम 'एसोसिएट डाइरेक्टर' भनेर आउने बताउँछन् निर्देशक सवीर । 'निर्मात्री स्वयं निर्देशन फिल्डमा लागेपछि मलाई काम गर्न निकै सजिलो भएको छ,' सवीर भन्छन्, 'हरेक कुरा सल्लाहमा भइरहेको छ ।' निर्देशनतिर हात हालेपछि पनि रेखा तनावमै छिन् । कारण रै'छ- रोल फिट हुने हिरो नपाएकोमा । 'मेरो फिल्मको रोलमा फिट हुने, मैले खोजेकोजस्तो हिरो अझै भेटिएको छैन । लौ'न कोही छ भने भेटाउनुपर्‍यो,' रेखा आग्रह गर्छिन् । दर्शकमाझ हिरोइनका रूपमा मात्र चिनिएकी रेखा गायिका पनि हुन् भन्ने कमैलाई थाहा होला । उनले निर्माण गरेको पहिलो फिल्म अजम्बरी नातामा उनले स्वर दिएकी छिन् । अर्का पपगायक सुरेन्द्रमान सिंहको नयाँ एल्बममा पनि गीत गाएकी छिन् रेखाले । उनी मोडलिङको धरातलमा टेकेर अभिनयको भर्‍याङ उक्लिएकी हुन् । अचेल पनि कहिलेकाहीँ उनी र्‍याम्पमा क्याटवाक गर्न पछि पर्दिनन् । कलाकारिताका सबै विधाको ज्ञान हासिल गर्न चाहन्छु भन्ने रेखाले सबै विधामा 'पर्फेक्ट' भएपछि मात्र एकल निर्देशकका रूपमा उत्रने बताइन् । कसले चोर्‍यो मेरो मनको सुटिङमा मात्र नभई फिल्मको एडिटिङ, डबिङ, मिक्सिङदेखि लिएर फाइनल पि्रन्ट निस्कने वेलासम्म नै रेखा निर्देशक सवीरसँगै हुनेछिन् । तर, स्पटमा उनले कुनै कलाकारलाई यसो गर, उसो गर भनेरचाहिँ अह्राउने छैनन् । बरु यो एंगल यसरी लगाउँदा कस्तो होला ? यो सट यसरी किन लिएको भनेर निर्देशकसँग जिज्ञासा राख्नेछिन् । अनि निर्देशकले पनि यो भनेको यसो हो भन्दै विद्यार्थीलाई मास्टरसा'बले सिकाएजस्तो सिकाउनेछन् । केही फिल्मबाट निर्देशन सिकेर पछि आफैं फिल्म निर्देशन गर्ने दाउमा छिन् रेखा । भन्छिन्, 'अब अरू काम गरिँदैन । गर्न पनि सकिन्नँ । जिन्दगीभरि यही क्षेत्रमा लागिरहन्छु ।' अहिले नै निर्देशन जानियो भने भने बुढेसकालमा अरू कामको दुःख हुन्नजस्तो लागेको छ उनलाई । रेखा थप्छिन्, 'फिल्म निर्देशन गर्नु त तनावको काम रहेछ । बल्ल भेउ पाउँदै छु । तर, यो चुनौतीलाई म जसरी भए पनि पार गर्छु ।'

No comments: