News

Mar 30, 2009

सभासद्सँग रक्सीको लत छुटाइदिन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली/ नयाँ संविधान निर्माणका लागि सुझाव संकलन गर्न आएका संविधानसभा सदस्यलाई दलित महिलाले आफ्ना श्रीमान्लाई रक्सीको लत छुटाइदिन आग्रह गरेका छन् । संविधानसभा सदस्य हरि श्रीपाइलीले 'तपाईंहरूका समस्या के-के छन् ? भन्नूस् म तपाईंहरूको सुझाव संविधानमा लगेर नयाँ कानुन बनाउन प्रस्ताव राख्छु' भनेपछि कैलालीको धनगढी-६ जालीका दलित बस्तीका महिलाले श्रीमान्लाई रक्सी नखाने बनाइदिन आग्रह गरेका हुन् ।'हामी दाउरा बेचेर पैसा ल्याई घरखर्च चलाउँछौँ, तर श्रीमान् भने रक्सीले मात्तिन्छन्,' सरुलीदेवी विकले सभासद् हरि श्रीपाइलीलाई आफ्नो दुखेसो पोख्दै भनिन् । 'रक्सी पिए कारबाही हुने कानुन बनाउनुपर्‍यो, हामी दिनभरि ज्याला-मजदुरी गरेर पैसा कमाउँछौँ, तर हाम्रा पुरुष भने राति रक्सी खाएर कुट्छन्,' गंगादेवी सार्कीले भनिन् । 'यहाँका पुरुषलाई त रक्सीले नै बिगारेको हो' महिलाले होमा हो मिलाउँदै सभासद् श्रीपाइलीलाई भने, 'पुरुषले रक्सी खान छाडे यो टोल सुधि्रन्छ ।' सभासद् हरि श्रीपाइलीले अब यहाँका पुरुषले रक्सी खाए प्रहरीबाट कारबाही गराउने आश्वासन दिए । महिलाले आफ्ना श्रीमान्को रक्सी खाने बानीले सताएको बताउँदै गर्दा पुरुषहरू भने चुपचाप बसेका थिए ।

No comments: