News

Mar 22, 2009

सरकारमा सहभागिताबारे नेपाली काँग्रेसमा मतभिन्नता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागिताबारे नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुबीच मतभिन्नता देखिएको छ ।कार्यवाहक सभापति सुशिल कोइराला र प्रवक्ता अर्जुननरसिंह केसीले सरकारमा कुनै हालतमा नजाने बताएका छन् । केन्द्रीय सदस्य सुजाता कोइरालाले भने वातावरण बने काँग्रेस सरकार जान सक्ने सम्भावना रहेको बताएकी छिन् । शनिबारमात्र प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सरकारमा सहभागी हुनेबारे सकारात्मक संकेत आएको बताइरहेका बेला नेताहरुको त्यस्तो प्रतिकि्रया आएको हो । बेसीशहरमा प्रेस युनियन लमजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति कोइरालाले सरकारमा जाने हल्ला निराधार भएको बताए । उनले भने 'हामीलाई सरकारमा जाने लोभ छैन र जान पनि जादैनौं, जाने भन्ने हल्ला विल्कुल निराधार हो ।' तोकेको समयभित्र सविधान निर्माण गर्न भने कांग्रेसले पूर्ण सहयोग गर्ने उनले बताए । उता, केन्द्रीय सदस्य सुजाताले माओवादीले वातावरण बनाएमा कांग्रेस सरकारमा समावेश हुने बताएकी छिन् । नेपाल प्रेस युनियन मकवानपुरद्वारा हेटौडामा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन-'माओवादीले विगतमा गरेका सहमती र सम्झौताहरु कार्यान्वयन गरेमा नेपाली कांग्रेस संविधान निर्माण गर्न सरकारमा जानेछ ।' सधै माओवादी विरुद्ध प्रखर ढङ्गले प्रस्तुत हुने कोइरालाले सहकार्य र मेलमिलापबिना संविधान बन्न नसक्ने वताइन । मुलुक र मुलधारका राजनीतिक दलहरु दैनिक रुपमा कमजोर हुदै गएकाले मेलमिलाप गरेर अगाडि वढनु पर्ने कुरामा जोड दिएकी थिइन । अर्कोतिर, प्रवक्ता एवं सहमहामन्त्री केसीले संस्थागत रुपमा अडान लिईसकेकाले कांग्रेस सरकारमा सहभागी नहुने दाबी गरे । प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले माओवादी नेतृत्वको सरकारमा सहभागी हुनु 'मृत्युपत्रमा आफैले हस्ताक्षर गरे सरह' हुने टिप्पणी गरे । उनले कसैले कांग्रेस सरकारमा आउदैछ भन्नु झुटको खेती भएको पनि बताए । माओवादीले 'दादागिरी' शैलीमा सरकार चलाएको आरोप लगाउँदै उनले सत्ता साझेदार एमालेलाई पनि सरकार निल्नु न ओकल्नु भएको बिश्लेषण गरे ।

No comments: