News

Mar 28, 2009

बन्द हड्ताल विरुद्धको अभियान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बन्द-हडतालविरुद्धको संकल्प प्रस्तावमा सबै दललाई ऐक्यबद्धता जनाउन लगाउने उद्योगी व्यवसायीको प्रयास असफल भएको छ ।प्रधानमन्त्रीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलका प्रतिनिधि कार्यक्रममा सहभागी नभएपछि प्रयास असफल भएको हो । बन्द हड्तालले उद्योग व्यवसाय धराशयी भएकाले त्यसविरुद्धको अभियान सुरु गर्न निजी क्षेत्रका छाता संगठनहरूले शुक्रबार राजधानीमा संकल्प प्रस्तावमा ऐक्यबद्धता जनाउने कार्यक्रम गरेका थिए ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल चेम्बर अफ कमर्स र घरेलु तथा साना उद्योग महासंघद्वारा संयुक्त रुपमा तयार गरिएको बन्दविरुद्धको संकल्प प्रस्ताव कार्यक्रममा प्रस्तुत गरिएको थियो ।प्रस्तावलाई सहभागी दलका प्रतिनिधि र मन्त्रीहरूले सकारात्मक भने पनि एकअर्काप्रति गालीगलोजमै अधिकांश समय खर्चिएका थिए । कार्यक्रममा कांग्रेस, एमाले, माओवादीसहित समाजवादी जनता दल र नेपाल परिवार दलका प्रतिनिधिमात्र सहभागी थिए । सहभागी कांग्रेस नेता डा. रामशरण महतले सत्ताधारी माओवादीकै कारण औद्योगिक क्षेत्रमा सुरक्षा हुन नसकेको बताए । उनले उद्योगी व्यवसायीले सबै दललाई औंला ठड्याउनुको साटो माओवादी अराजकताको विरोध गर्न चुनौती दिए । एमाले नेता भरतमोहन अधिकारीले दण्डहीनताले बन्द, हड्ताल बढेको बताउँदै त्यसले संविधान लेखनमा समस्या पार्ने बताए । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राज्यले पुँजी र श्रमको सन्तुलन कायम गर्न नसक्दा बन्द-हड्ताल बढेको जनाए ।पर्यटनमन्त्री हिसिला यमीले सरकारसँग प्रष्ट सोच भए पनि कार्यान्वयनमा समस्या रहेको स्विकारिन् । उनले सरकारले निजी क्षेत्रका लागि विशेष आर्थिक क्षेत्र घोषणा तथा लगानी बोर्ड गठन गरेको दाबी गरिन् । श्रममन्त्री लेखराज भट्टले अरु अगाडि बढी क्रान्तिकारी देखिन बन्द, हड्तालको प्रतिस्पर्धा बढेको बताए । निजी क्षेत्रले सार्वजनिक गरिएको प्रस्तावमा बन्द स्वेच्छिक, शान्तिपूर्ण, जायज मर्का वा मागमा आधारित र लक्षित वर्गमा केन्दि्रत हुनुपर्ने उल्लेख छ । माग पूरा गराउन वैकल्पिक उपाय अपनाउनुपर्ने उल्लेख गर्दै प्रस्तावमा बन्द गरे पनि औषधि पसल, अस्पताल, होटल, चमेनागृह, निजी तथा सार्वजनिक यातायात, बिजुली, पानी, फोहोरमैला संकलन, सञ्चारलगायत क्षेत्रलाई बन्द निषेधित व्यवस्था गरिनुपर्ने सुझाव राखिएको छ ।यो वर्ष नेपालमा ११ महिनामा (३ सय ३० दिनमा) सार्वजनिक र साप्ताहिक बिदाबाहेक १ सय २० दिन उद्योग व्यवसाय बन्द भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले कार्यक्रममा जानकारी दिएका थिए । प्रतिदिन १० करोड हिसाब गर्दा सो अवधिमा १२ अर्ब रुपैयाँ नोक्सानी भएको उनले बताए ।बन्दकै कारण रोजगारी घटिरहेको, नयाँ लगानी वातावरण नभएको, उद्योगधन्दा धराशयी तथा उद्योगीको जीउज्यान असुरक्षित भएको व्यवसायीले कार्यक्रममा जानकारी दिए । उद्योग परिसंघ अध्यक्ष विनोदकुमार चौधरीले संकल्प इमानदारीपूर्वक व्यवहारमा उतार्न आचारसंहिता बनाइने बताउँदै सरकारले बन्द, हड्ताल र अराजकता रोक्न कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

No comments: