News

Mar 26, 2009

राजधानीमा जग्गा कारोबार मूल्य घट्न थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा निरन्तर बढिरहेको जग्गा कारोबार मूल्य घट्न थालेको छ । मालपोत कार्यालयमा जग्गा पास गर्न पुग्ने सेवाग्राहीमा ४० प्रतिशत हाराहारी कमी आएको छ । घरजग्गा मूल्यसँगै उच्च रूपले बढिरहेको कारोबार खरिद गर्दा स्रोत खुलाउनुपर्ने प्रावधान लागू भएपछि पुसयता नै केही घट्न थालेको थियो । सरकारले पुसमा २० लाखभन्दा बढीको गाडी, ३० लाखमाथिको जग्गा र ५० लाख रुपैयाँभन्दा बढीको घरजग्गा किन्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको थियो । हाल बैंकको लागानी अभाव तथा विश्वव्यापी आर्थिक मन्दीबाट तर्सिएर पनि जग्गा किन्नेको संख्यामा कमी आएको जनाइएको छ ।'दृष्टिबन्धक (बैंकबाट ऋण लिएबापत रोक्का), अंशबन्डा गर्नेबाहेक जग्गा किनबेच गरी नामसारी गर्न आउनेको संख्या पछिल्लो चार महिनामा ४० प्रतिशत हाराहारीले गिरावट आइसकेको छ,' काठमाडौं मालपोतका शाखा अधिकृत काजी विष्टले भने, 'छिचोलिनसक्नु मान्छेको भीड लाग्ने कार्यालय अचेल खुला हुन्छ ।'घरजग्गा खरिदकर्ता घटेका कारण कारोबारमा कमी आएको हो । विस्तारै मूल्यमा समेत गिरावट आउने अपेक्षा गर्न थालिएको छ । बैंकहरूको लगानी तथा रेमिट्यान्सका कारण राजधानीमा घरजग्गा कारोबार र मूल्य उच्च रुपले बढिरहेको थियो । अहिले राष्ट्र बैंकले सो क्षेत्रमा लगानी गर्न बैंकहरूलाई कडाइ गरिसकेको छ । घरजग्गाकै लगानीका कारण अमेरिकी बैंकहरू टाट उल्टिएर विश्वव्यापी आर्थिक मन्दी सुरु भएपछि केन्द्रीय बैंकले सो कदम चालेको हो । हाल नेपाली बैंकहरूले ६० अर्ब रुपैयाँभन्दा बढी रकम घरजग्गामा लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ । मन्दीले रेमिट्यान्समा समेत प्रभाव पर्न थालेपछि लगानीकर्ता थप हच्किएका हुन् । त्यसमाथि जग्गा मूल्यवृद्धिको १० वर्षे चक्र पूरा भएकाले पनि ह्रास आउने सम्भावना बढेको बताइन्छ । प्रत्येक १० वर्षमा जग्गा मूल्य ओरालो लाग्ने अन्तर्राष्ट्रिय मान्यता छ । ०५६ पछि उकालो लागेको जग्गा मूल्यवृद्धि क्रमशः १० वर्ष पुग्न लागेको छ ।मालपोतमा लेखापढी व्यवसाय सञ्चालनकर्ता पनि जग्गा कारोबार गर्नेको संख्यामा ठूलो कमी आएको बताउँछन् । डिल्लीबजारस्थित काठमाडौं मालपोतमा डेढ सय हाराहारी लेखापढी व्यवसायी छन् । '६ महिनाअघि प्रत्येक व्यवसायीले जग्गा पासको मात्र औसत दैनिक दुई लिखत उठाउँथे,' एक लेखापढी व्यवसायीले भने, 'तर अहिले दिनभर बसेर पनि खालि हात फर्किनुपर्ने अवस्था आएको छ ।'काठमाडौं मालापोतले उठाउने राजस्व मंसिरयता लगातार घट्दो छ । मंसिरमा १३ करोड ४६ लाख ६२ हजार राजस्व सो कार्यालयले संकलन गरेकामा पुसमा १२ करोड ९१ लाख २४ हजार रुपैयाँमा झरेको छ । त्यस्तै, माघमा १२ करोड ५४ लाख ४८ हजार ४८ हजार मात्र राजस्व उठेको थियो भने फागुनमा १२ करोड ४१ लाख ५२ हजार रुपैयाँमा झरेको छ । चैतमा अझै कमी आउने संकेत देखिएको कार्यालय प्रमुख प्रेमबहादुर खापुङले बताए । फागुनसम्म दैनिक औसत २ सय ५० भन्दा बढी लिखत उठ्दै आएकामा चैत लागेपछि एक दिन मात्र दुई सय नाघेको छ । ५ चैतमा २ सय १० लिखत उठेको थियो । औसतमा दैनिक १ सय ५० हाराहारी लिखत उठ्ने गरेको उनले जानकारी दिए ।ललितपुर र भक्तपुरमा पनि जग्गा कारोबार घटेको सम्बन्धित जिल्लाका मालपोत कार्यालयले जनाएका छन् । 'म आएको एक साता भयो,' ललितपुर मालपोत प्रमुख झंकप्रसाद नारायण श्रेष्ठले भने, 'हरेक दिन जग्गा पास गर्न आउनेको भीड पातलिंदै गएको छ ।' सो कार्यालयले उठाउने राजस्व माघको तुलनामा फागुनमा केही बढे पनि जग्गा खरिद बिक्री नामसारी घटिरहेको उनले जानकारी दिए । दैनिक १ सय ५० भन्दा बढी लिखत उठ्ने ललितपुरमा अहिले १ सय नाघ्न मुस्किन पर्न थालेको जनाइएको छ । भक्तपुरमा पनि लिखत संख्यामा ठूलो कमी आएको छ । त्यहाँ दैनिक २ सयसम्म नामसारी दर्ता हुने गरेकामा हाल मुस्किलले १ सय पुग्ने गरेको एक कर्मचारीले बताए ।

No comments: