News

Mar 27, 2009

कन्डमको आधारमा विद्यार्थी हत्याराको पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यार्थी हत्याको अभियोग लागेका सैनिक जवान घटनास्थलमा बरामद भएको कन्डमको आधारमा प्रहरीले पक्राउ गरेको छ । सेनाको मध्यपश्चिम पृतनाअन्तर्गत भैरव गणमा कार्यरत जवान झविन्द्रप्रसाद खनाललाई विद्यार्थीको शवनजिकै भेटिएको कन्डमको आधारमा सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एसपी छविलाल जोशीले भने, 'हामीले मृतक विद्यार्थीको नजिकै कन्डोम भेटायौं, जसले घटनाको प्रमुख कारण यौनप्रकरण हो भन्ने जानकारी भयो ।'कन्डमका साथै मृतक विद्यार्थीको पर्समा भेटिएका केटीका फोटाले अनुसन्धानलाई थप सहज बनाएको प्रहरीको भनाइ छ । एसपी जोशीका अनुसार मृतक विद्यार्थीको पर्समा आठवटा केटीका फोटा भेटिएका थिए । जोशीले भने, 'हामीले फोटोमा भएका केटीहरूको पहिचान गर्ने क्रममा एउटी केटी तुलसा खत्री (सुष्मा) मृतक विद्यार्थीसँगै पढ्ने खुलासा भयो, त्यसपछि हामीले उनको खोजी गर्‍यौं ।'प्रहरीले अनुसन्धानका क्रममा नेपाली सेनामा कार्यरत झविन्द्रकी श्रीमती तुलसा र मृतक वलीबीच लामो समयदेखि हिमचिम रहेको तथ्य प्राप्त गर्‍यो । एसपी जोशीले भने, 'यतिसम्म आइपुग्दा हामी हत्याराबारे अन्योलमा थियौं, तर घटनास्थलमै भेटिएको खुकुरीको खोलले हामीलाई हत्यारा सेनामा कार्यरत व्यक्ति अथवा तुलासाकै श्रीमान् हो भन्ने पक्का भयो ।' उनका अनुसार घटनास्थलमा भेटिएको खुकुरीको खोल सेना वा प्रहरीले प्रयोग गर्ने 'स्केल' को थियो । 'सामान्य व्यक्तिले खुकुरीको खोलको टुप्पोमा पोलिस लगाउँदैनन्, तर बरामद खोल पोलिस लगाएर टल्काइएको थियो,' जोशीले भने ।अभियुक्तको पहिचान भएपछि तुलसाको कोठामा छापा मारी थप फोटा बरामद गरियो । ती फोटाले पनि अनुसन्धानलाई सफलताको नजिक पुर्‍याए । प्रहरीले घटनास्थलमा बोलानो कम्पनीको एउटा घडी भेटाएको थियो । त्यही घडी तुलसाको कोठाबाट बरामद एउटा फोटोमा उनका श्रीमान् झविन्द्रले लगाएका थिए ।घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक प्रदीप क्षेत्रीले भने, 'यति भइसकेपछि त हामीलाई हत्यामा सैनिक जवान झविन्द्रको संलग्नता छ भन्ने निश्चित नै भयो ।' अनुसन्धानका क्रममा प्रहरीले करिब एक सय फोटोको अनुसन्धान गरेको थियो । कन्डमको आधारमा थालिएको अनुसन्धानलाई पछिल्लो समय फोटाहरूले बल पुर्‍याएको प्रहरीको भनाइ छ ।सूक्ष्म अनुसन्धानबाट प्राप्त उपलब्धिका आधारमा प्रहरीले १८ फागुनमा मध्यपश्चिम पृतनामा पत्राचार गरी अभियुक्त सैनिकलाई बुझाउन अनुरोध गरेको थियो । पृतनाले भने गत सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।अभियुक्त सैनिक जवान झविन्द्रले वलीलाई आपनी श्रीमती तुलसासँग आपत्तिजनक अवस्थामा भेटाएपछि आवेगमा आएर हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ । मृतक वलीकी दुईवटी श्रीमती छन् ।

No comments: