News

Mar 20, 2009

स्ववियु चुनाव कडा सुरक्षाबीच बिहीबार सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन र संस्कृत विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव कडा सुरक्षाबीच बिहीबार सम्पन्न भएको छ । चुनाव सम्पन्न भएपछि कतिपय क्याम्पसको चुनावी परिणाम आइसकेका छन् भने अधिकांशमा मतगणना जारी छ ।राजधानीका पाँच र बाहिरका सात गरी एक दर्जन त्रिविका आंगिक क्याम्पसमा चुनाव स्थगित भएको छ । विद्यार्थी संगठनबीच तनाव उत्पन्न भएपछि राजधानीका पद्मकन्या, नेपाल ल क्याम्पसमा बिहीबार चुनाव स्थगित भएको छ । बिहीबारसम्ममा राजधानीका विषेश महत्त्व राख्ने पाँचवटा क्याम्पसको चुनाव स्थगित भएका छन् । रत्नराज्य क्याम्पसमा बुधबार राति नै चुनाव स्थगित भएको सूचना निकालिएको थियो भने विश्वभाषा र सरस्वती क्याम्पसमा समेत चुनाव स्थगित भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापाका अनुसार राजधानीबाहिरका सात क्याम्पसमा चुनाव स्थगित भएका छन् । धरानका महेन्द्र बहुमुखी, पूर्वाञ्चल इन्जिनियरिङ, हात्तिसार क्याम्पसमा चुनाव स्थगित भएको छ । त्यसैगरी, तेह्रथुम क्याम्पस, इलामको महेन्द्र रत्न, झापाको मेची तथा सिराहाको सूर्यनारायण सत्यनारायण नर्वेता क्याम्पसमा चुनाव स्थगित भएको छ । त्रिभुवन तथा नेपाल संस्कृत विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त तीन सयको हारहारीमा स्ववियु चुनाव भएको थियो । विगतमा नेविसंघ र अनेरास्ववियुका 'गढ' भत्किएका छन् । राति दस बजेसम्मको परिणामअनुसार अनेरास्ववियुले ४६, नेविसंघ र अखिल क्रान्तिकारीले ३३/३३ सभापति जितेका छन् । नेविसंघले राजधानीका बानेश्वर, कोटेश्वर, ग्रामीण आदर्श, आयुर्वेदमा जित हासिल गरेको छ । अखिलले जित्दै आएको बानेश्वर क्याम्पसमा नेविसंघका नारायण श्रेष्ठ सभापति रहेको प्यानल विजयी भएको छ । कोटेश्वर क्याम्पसमा नेविसंघका महेन्द्र भट्टराईले सभापति मात्रै जितेका छन् । आयुर्वेद क्याम्पस नरदेवीमा सुरेन्द्र राय सभापति प्यानलले जितेको छ । जनप्रशासनमा भने नेविसंघ सभापति रहेको अखिलसहितको प्यानलले निर्विरोध भएको थियो ।अनेरास्ववियुका प्रकाश सापकोटाको प्यानलले पुल्चोक इन्जिनियरिङ क्याम्पस विजयी भएको छ । सानेपा नर्सिङ क्याम्पसमा प्रभाको प्यानल विजयी भएको छ । सहिद आदर्श क्याम्पसमा तारा प“mुयाल सभापतिको प्यानल विजयी भएको छ । ललितकला क्याम्पसमा लालकाजी लामा सभापति रहको प्यानल विजयी भएको छ । अमृत साइन्स क्याम्पसमा पनि अखिलका कमल बस्नेत विजयी भएका छन् । अखिल क्रान्तिकारीले मनोहरा क्याम्पस सभापतिमा राजकुमार राईको प्यानल, नेपाल राष्ट्रिय क्याम्पसमा भरत तामाङ सभापति रहेको प्यानल, महालक्ष्मी क्याम्पसमा पुष्पराज श्रेष्ठ सभापति रहेको प्यानलले जितेको छ । कान्तिपुर क्याम्पस थलीमा हरिश खड्काले सभापतिमा जितेका छन् । नेविसंघका गढका रूपमा चिनिएको पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले भत्काएको छ । सभापतिमा प्रकाशचन्द्र सापकोटासहित धेरै उम्मेदवार क्रान्तिकारीले जितेको छ । शंकरदेव, त्रिचन्द्र, पशुपति, पाटन संयुक्तलगायतका क्याम्पसमा राति अबेरसम्म मत गणना भइरहेको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पसमा शुक्रबार मतगणना हुने भएको छ ।

No comments: