News

Mar 29, 2009

इन्डोनेसियाको बाँध भत्कँदा मर्नेहरूको संख्या ९३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जकार्ता/ इन्डोनेसियाको जर्कातास्थित एउटा बाँध भत्कँदा मर्नेहरूको संख्या ९३ पुगेको छ । हराइरहेका एक सयभन्दा बढीलाई जीवितै फेला पार्न सकिने संभावना अत्यन्त न्यून रहेको सरकारी अधिकारीले बताएका छन् । आइतबार बिहानसम्म ९३ जनाको लास भेटिएको उद्धार तथा खोजीमा संलग्न अधिकृतले बताए । प्रहरी तथा सैनिकसमेत गरी सात सय उद्धारकर्मी खोजी तथा उद्धारमा खटिरहेको जनाइएको छ । राजधानी जकार्ताको बाहिरी भागमा अवस्थित बाँध शुक्रबार बिहान सखारै भत्केको थियो । दिनभरिको अविरल वर्षाका कारण जलाशयमा पानीको मात्रा अत्यधिक बढ्नाले बाँध भत्केको अनुमान गरिएको छ । वातावरणवादी तथा स्थानीय बासिन्दाले भने समयमा बाँधको मर्मतसम्भार नहुँदा दुर्घटना भएको दाबी गरेका छन् । बाँध भत्केपछि आएको बाढीले एक सयभन्दा बढी घरलाई नराम्ररी प्रभावित पारेको छ । यसैबीच, राष्ट्रपति सुसिलो बामबाङ युधोयोनोले प्रभावित स्थलको निरीक्षण गरेका छन् । पीडित प्रभावित परिवारलाई तत्काल सहयोग गर्न पनि उनले सरकारी निकायहरूलाई निर्देशन दिएका छन् ।

No comments: