News

Mar 23, 2009

सहमति कार्यान्वयन गरे कांग्रेस सरकारमा जान विचार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले विगतका सहमति र समझदारी कार्यान्वयन गरे सरकारमा सहभागिताबारे विचार गर्न सकिने बताएका छन् । गृहनगर विराटनगर पुगेका कोइरालाले सोमबार निवासमा संवाददाताहरुसित संक्षिप्त कुरा गर्दै माओवादीले विगतमा गरेका सबै समझदारी र सहमति कार्यान्वयन गरे 'सरकारमा जाने वा नजानेबारे विचार गर्न सकिने' बताएका हुन् । अहिले नै आफूले सरकारमा जाने वा नजानेबारे कुनै पनि प्रतिवद्धता व्यक्त नगर्ने भन्दै उनले यो ( सरकारमा सहभागिता) माओवादीको व्यवहारमा भर पर्ने बताए ।प्रधानमन्त्रीलगायत माओवादी नेताले कांग्रेस सरकारमा सहभागी हुने संकेत गरेकोतर्फ ध्यानाकर्षण गराउँदा कोइरालाले भने- 'कसले के भन्यो भन्नेतिर लाग्दिन, नेपाली कांग्रेस आफूले भनेको कुरा पूरा गर्नेतिर लाग्छ ।' क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावको परिणामप्रति लक्षित गर्दै संवाददाताहरुले राखेको जिज्ञासामा कोइरालाले 'एउटा लडाइँ जित्दैमा पुरै युद्ध जितेको नमानिने' टिप्पणी गरे । 'एउटा लडाइँ जित्दैमा युद्ध जितेको मानिदैन' उनले भने- 'अब प्रजातान्त्रिक युद्ध सुरु हुन्छ ।'हतियारसहितको माओवादीलाई सरकारमा ल्याउनु गल्ती भएको भन्ने एमाले नेता माधवकुमार नेपालको भनाइ उल्लेख गर्दै संवाददाताहरुले राखेको जिज्ञासामा कोइरालाले पछाडि फर्केर हेर्ने आफ्नो बानी छैन भन्दै अब अगाडि कसरी जाने भन्नेबारे सोच्ने उल्लेख गरे ।

No comments: