News

Mar 30, 2009

नेपाल र नर्वेबीच जलविद्युत् विकासलाई तीन वर्षे सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र नर्वेबीच जारी शान्ति प्रक्रिया र नेपालको जलविद्युत् विकासलाई प्राथमिकतामा राखी तीन वर्षे नयाँ बृहत्तर समझदारी पत्रमा सोमबार सम्झौता भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको अवसर पारेर भएको समझदारी पत्रमा विद्यमान सहयोगलाई निरन्तरता दिँदै ऊर्जा, शिक्षा र असल शासनका क्षेत्रमा थप सहयोग गर्ने उल्लेख छ । त्यस्ता क्षेत्रमा नेपाल सरकारसँग ठोस प्रस्तावको आह्वानपछि नर्वे सरकारले सहयोग गर्नेछ ।प्रधानमन्त्री दाहाल नर्वे र फिनल्यान्ड भ्रमणका लागि आइतबार ओस्लो आएका हुन् । उनका साथ पुत्र प्रकाश, श्रीमती सीता, व्यापारी टोलीसहित १९ जना भ्रमणमा छन् ।नेपालमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी भएको नयाँ समझादारी पत्रले सन् १९९६ मा दुई देशबीच भएको समझदारीलाई प्रतिस्थापन गरेको छ । पुरानो समझदारी पत्रले सहयोगका क्षेत्रलाई विशिष्टीकृत गर्न सकेको थिएन ।समझदारी पत्रमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र नर्वे विदेश मन्त्रालयका उपमहासचिव अट्ले लेकभोलले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरमा प्रधानमन्त्री दाहाल र नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री इरिक सोल्हेम उपस्थित थिए । नेपालको शान्ति प्रक्रियामा विशेष चासो राख्ने सोल्हेमको विशेष पहलमा भ्रमणको व्यवस्था मिलाइएको हो ।नेपालको तीन वर्षे अन्तरिम योजना, सरकारका न्यूनतम साझा कार्यक्रम र बजेटमा उल्लेखित सरकारका मुख्य प्राथमिकतालाई आधार मानी समझदारी पत्र तयार पारिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रद्युम्न विक्रम शाहले ई-कान्तिपुरलाई बताए ।यो बृहत्तर समझदारी हो, यसकै आधारमा तीन वर्षमा नर्वेको सहयोग र लगानीका प्राथमिकता र परियोजना निर्धारित हुनेछन्, उनले भने ।सन् २०११ सम्मका लागि भएको यो बृहत्तर विकास संरचनामा नेपालको ऊर्जा, शिक्षा, असल शासन, सरकार निजी साझेदारी, नागरिक समाजसँगको सहकार्यमा विशेष जोड दिइएको छ । जलविद्युतो क्षेत्रमा सहयोग केन्दि्रत गरे पनि परियोजना विशेषको नाम समझदारी पत्रमा उल्लेख छैन । स्रोतका अनुसार, यो समझदारी पत्रमार्फत नर्वेका लागि अब नेपालको जलविद्यत् लगानीलाई थप खुला भएको छ ।ऊर्जाबाहेकका नौ बुँदे सहयोगका क्षेत्रमा शान्ति र लोकतन्त्रको निर्माण, नेपालको स्कुल क्षेत्र सुधार कार्यक्रम, नेपाललाई बजेट सहयोग, जारी शान्ति प्रक्रियामा नेपालले चाहेको थप सहयोग उपलब्ध गराउने, नागरिक समाजलाई सहयोग, निजी क्षेत्रसँगको सहकार्य, सार्वजनिक निजी साझेदारी र राष्ट्रसंघमार्फत नेपाललाई दिएको सहयोगको निरन्तरतालगायत छन् ।समझदारी पत्रपछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा मन्त्री सोल्हेमले नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशाउन्मुख भएको बताए । उनले शान्ति प्रक्रिया, नयाँ संघीय प्रणाली र आर्थिक विकासमा नेपाललाई पर्ने सबैखाले सहयोग गर्न नर्वे तयार रहेको समेत बताए ।
प्रधानमन्त्री दाहालसँगका आफ्ना सम्बन्धलाई स्मरण गर्दै उनले नर्वेमा स्वागत गर्न पाउनु सुखद भएको समेत बताए । सकारात्मक दिशाउन्मुख भई पनि नेपालको शान्ति प्रक्रियामा जटिलता पनि छन्, तर मलाई विश्वास छ, नेपालका राजनीतिक दलले तिनलाई समाधान गर्नेछन्, उनले भने ।प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा नर्वेको सहयोगको प्रशंसा गर्दै नयाँ संविधान निर्माणमा सबै पार्टीको प्रतिबद्धता रहकाले तार्किक निष्कर्षमा पुग्ने बताए । दाहाललाई नर्वेजियन सञ्चारमाध्यमका प्रतिनिधिले सेना समायोजन, ऊर्जामा नर्वेको सहयोग, मेलम्ची खानेपानी परियोजनालगायतका विषयमा जिज्ञासा राखेका थिए ।यसैबीच प्रधानमन्त्री दाहालले सोमबारै नर्वेका राजा हेराल्ड पाँचौं र प्रधानमन्त्री जेन्स स्टोलनवर्गसँग छुट्टाछुट्टै भेट गरेका छन् । त्यसक्रममा नेपाल र नर्वे सम्बन्ध र सहयोगबारे छलफल भएको छ ।

No comments: