News

Mar 24, 2009

नेत्री आङ सान सुकीलाई नजरबन्दमा राख्नु गैरकानुनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ संयुक्त राष्ट्रसंघले म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई नजरबन्दमा राख्नु गैरकानुनी भएको जनाएको छ । विगत १३ वर्षदेखि आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री सुकीलाई बर्सेनि नजरबन्दको अवधि थप्दै राख्नु म्यान्मारको कानुनबमोजिम नभएको राष्ट्र संघको एउटा कानुनी दस्तावेजमा उल्लेख छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित प्रजातन्त्रवादी नेत्री सुकीलाई अन्तर्राष्ट्रिय एवं म्यान्मारको कानुनको बर्खिलाप हुनेगरी नजरबन्दमा राखिएको जिकिर गर्दै विश्व संस्थाले जुन्ता सरकारलाई पत्राचार गरेको छ । म्यान्मारको सन् १९७५ को राज्य संरक्षण कानुनअनुसार कुनै पनि नागरिकलाई पाँच वर्षभन्दा बढी नजरबन्दमा राख्न पाइनेछैन । यसैबीच, नेत्री सुकीको दल नेसनल लिग फर डिमोक्रेसी (एनएलडी) ले बन्दी बनाइएको आफ्नो दलका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न अनुमतिका लागि जुन्ता सरकारसँग अपिल गरेको छ । दलको भावी योजना तथा रणनीतिबारे नेत्री सुकीलगायत हिरासतमा रहेका केन्द्रीय कार्यसमितिका नेताहरूसँग परामर्श गर्न पाउनु आफ्नो अधिकार भएको बताउँदै उक्त दलले हालसम्म सरकारीस्तरबाट कुनै प्रतिक्रिया प्राप्त नभएको जनाएको छ । आफ्ना नेताहरूसँग भेट्न एनएलडीले सैनिक सरकारलाई पत्राचार गरेको उक्त दलका एकजना वरिष्ठ नेताले बताए ।

No comments: