News

Mar 24, 2009

नेपाली कांग्रेसले प्रधानमन्त्रीय पद्धतिलाई सिफारिस गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीय पद्धतिलाई निरन्तरता दिन संवैधानिक समितिमा सिफारिस गर्ने भएको छ । समितिमा पेस गर्न तयार पारिएको भावी संविधानको स्वरूपमा राष्ट्रप्रमुख राष्ट्रपति भए पनि कार्यकारी अधिकार भने प्रधानमन्त्रीमा हुनुपर्ने उल्लेख गरिएको छ । कांग्रेसले आपनो मस्यौदामा राष्ट्रिय एकता, अखण्डता जनतामा निहित सार्वभौमसत्ता, जनतामा निहित संविधानको सर्वोच्चतालाई नयाँ संविधान निर्माणको आधारभूत सिद्धान्त बनाउन सिफारिस गरेको छ । राष्ट्रपतिको निर्वाचन केन्द्रीय र प्रादेशिक संसद्बाट गर्नुपर्ने र प्रधानमन्त्री केन्द्रीय संसद्बाट चुनिनुपर्ने कांग्रेसले उल्लेख गरेको छ । नौ पेज लामो मस्यौदामा बहुदलमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सिफारिस गरेको छ । उसले मस्यौदामा 'प्रधानमन्त्री केन्द्रीय संसद्प्रति उत्तरदायी हुनुपर्ने' उल्लेख छ । मानवअधिकार, मौलिक हक एवं नागरिक र राजनीतिक स्वतन्त्रतालाई संविधानमै सुरक्षित गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ । कांग्रेसको प्रारम्भिक अवधारणाको मस्यौदामा संघीय स्वरूपबारे भने केही उल्लेख गरिएको छैन । कांग्रेस महामन्त्री विमलेन्द्र निधिले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको मूल स्वरूप हुनुपर्ने कांग्रेसको अवधारणा रहेको बताए । पार्टीको संविधान मस्यौदा समितिले दिएको सुझावका आधारमा तयार पारिएको सो सुझावलाई मंगलबार बिहान बस्ने संवैधानिक समितिको बैठकमा कांग्रेसका तर्फबाट महामन्त्री निधिले पेस गर्ने भएका छन् । कांग्रेसले सोमबार कार्यवाहक सभापति सुशील कोइरालाको उपस्थितिमा केही कानुनविद्को समेत परामर्शमा सो अवधारणा तयार पारेको हो । कांग्रेसले छिट्टै संविधानको स्वरूपसमेत पेस गर्ने पार्टीका तर्फबाट संविधान सुझाव समितिका सदस्य लोकेश ढकालले जानकारी दिए । संवैधानिक समितिले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसित लिखित अवधारणा मागेको छ ।

No comments: