News

Mar 22, 2009

अमेरिकाको इरान नीतिमा कुनै परिवर्तन नआएको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ संयुक्त राज्य अमेरिकाको इरान नीतिमा कुनै परिवर्तन नआएको इरानका सर्वोच्च नेता आयोतल्ला अली खामेनीले शनिबार बताएका छन् । शुक्रबार मात्र अमेरिकाका राष्ट्रपति बाराक ओबामाले इरानसँग नयाँ कूटनीतिक वार्तामार्फत सम्बन्ध सुधार्नेबारेमा इरानी नववर्षको उपलक्ष्यमा बोलेका थिए । सन् १९७९ को इरानी क्रान्तिदेखिको इरानप्रतिको अमेरिकी व्यवहार र नीतिको खामेनीले आलोचना गरे । संयुक्त राज्य अमेरिका विश्वमा नै घृणित भएको उनले बताए । अमेरिकाले अन्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने सल्लाह पनि दिए खामेनीले । 'उनीहरूले परिवर्तनको नारा दिन्छन्, तर व्यवहारमा हामी कुनै परिवर्तन देख्न सक्दैनौँ,' इरानी नयाँ वर्षको उपलक्ष्यमा टेलिभिजनमा भाषण गर्ने क्रममा उनले भने । संयुक्त राज्य अमेरिकाको शाब्दिक परिवर्तनले मात्र नपुग्ने पनि खामेनी बताए । 'हामी संयुक्त राज्य अमेरिकाको नयाँ नीति हेर्छौ मुल्यांकन गर्छौ खामेनीले भने । करिब तीन दशकअघिदेखि नै अमेरिका र इरानको सम्बन्ध बिगि्रएको थियो । इरानको आणविक कार्यक्रम, इराक-इजरायल आदि विषयले दुई राष्ट्रको सम्बन्धमा झन् चिसोपना थपेको थियो । पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले इरानलाई 'आतंकवादको केन्द्र' को संज्ञा दिएका थिए । तर, नयाँ राष्ट्रपति ओबामाले इरानले चासो दिएमा अमेरिकाले शान्तिको हात बढाउने शुक्रबार बताएका थिए । 'अहिले अमेरिकाको नयाँ प्रशासन विगतलाई बिर्सेर इरानसँग वार्ता गर्न हामी इच्छुक छौँ भनिरहेको छ । हामीले इरानसँग हात बढाउँदै छौँ भन्दै छ । तर, यो कस्तो हात हो ? यो हात बाहिर भेल्भेट पन्जाबाट बनेको छ, तर भित्र यो हात फलामको छ । त्यसैले यसको राम्रो अर्थ छैन,' खामेनीले भने ।

No comments: