News

Mar 21, 2009

निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्ना मागबारे सुझाव दिन सरकारले गठन गरेको कार्यदलप्रति असहमति जनाउँदै नेपाल निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आन्दोलनकारीका मागबारे सुझाव दिन अर्थ मन्त्रालयले कार्यदल गठन गरे पनि गठन र अधिकारमा असहमति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो । महासंघले २२ चैतसम्मका लागि शान्तिपूर्ण विभिन्न विरोध कार्यक्रम घोषणा गरेको छ ।सरकारले २ पुसमा सार्वजनिक खरिद नियमावली, ०६४ संशोधन गरी उपभोक्ता समितिबाट ६० लाख रुपैयाँसम्म लागतका आयोजना निर्माण गर्न सकिने व्यवस्था गरेको थियो । यसपूर्व उपभोक्ता समितिले ३५ लाख रुपैयाँसम्मको काम गर्न पाउने व्यवस्था थियो । सो संशोधन फिर्ता लिन माग गरी निर्माण व्यवसायी आन्दोलनमा उत्रेका छन् ।अर्थले सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव अशोककुमार उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा महासंघको एकजनालाई मात्र प्रतिनिधित्व गराइएको र मागबारे स्पष्ट सम्बोधन नगरी कार्यदल गठन गरिएकाले अस्वीकार्य भएको महासंघले जनाएको छ ।६० लाख रुपैयाँसम्म विनाटेन्डर विनायोग्यताका उपभोक्ता समितिलाई काम गर्ने निर्णयले साना व्यवसायीको रोजीरोटी खोसिएको भन्दै महासंघ विरोधमा उत्रेको हो । महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलन शुक्रबार समाप्त भएपछि दोस्रो चरणका आन्दोलन गर्ने जनाएको छ ।

No comments: