News

Mar 23, 2009

लिम्बुवान कार्यकर्ताको ज्यादतीविरुद्ध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्बुवान कार्यकर्ताको ज्यादतीविरुद्ध झापाका सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । लिम्बुवान कार्यकर्ताले सर्वसाधारणका घर तथा पसलमा तोडफोड गर्ने, ज्यान मार्ने धम्की दिने कार्य जारी राखेपछि चारपाने, अर्जुनधारा, अनारमनीका बासिन्दा संगठित रूपमा लिम्बुवानविरुद्ध उत्रिएका हुन् ।उनीहरूले आइतबार लिम्बुवानजन्य संगठनको ज्यादतीविरुद्ध झापामा दोस्रोपटक प्रदर्शन गरे । पटक-पटक लिम्बुवानले गरेको बन्द-हड्ताल, तोडफोड र आक्रमणविरुद्ध चर्को नाराबाजी गर्दै आइतबार सुरुंगा, चारपाने, शनिश्चरे, अर्जुनधारा र अनारमनीका स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।चारपानेबाट सुरु भएको प्रदर्शन बिर्तामोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा कांग्रेसका सभासद् केशवकुमार बुढाथोकीले लिम्बुवानलाई जातीय आधारमा राज्य दिन नसकिने बताए । उनले खुँडा-खुकुरी देखाएर जनतालाई नतर्साउन लिम्बुवानलाई चेतावनी पनि दिए ।उनले नयाँ संविधानका लागि सुझाव संकलन गर्न जाँदा लिम्बुवानको झुन्डले मित्रराष्ट्र नेपालबाट आएका सभासद्लाई स्वागत भनेको प्रसंग उल्लेख गर्दै आफूलाई अलग राज्यका ठान्ने लिम्बुवानलाई नेपाली नागरिकता र नेपाली नोट च्यातेर देखाउन चुनौती दिए । सभासद् बुढाथोकीले समूह-समूह बनाएर आपनो सुरक्षाका लागि आफैं लाग्न र लिम्बुवान ज्यादतीको प्रतिकार गर्न आह्वान पनि गरे ।एमालेका केन्द्रीय सदस्य नरेश खरेलले आपनो अधिकार माग्ने नाममा अर्काको अधिकारमाथि लिम्बुवानले धावा बोलेको आरोप लगाए । कांग्रेस झापाका सभापति सुधीरकुमार सिवाकोटीले पटक-पटक दलहरूसँग वार्ता गरेर सहमति कायम भए पनि त्यसलाई लिम्बुवानले खिल्ली उडाउने गरेको उल्लेख गरे ।एकीकृत माओवादीका झापा सेक्रेटरी असिमले लिम्बुवान ज्यादतीले सीमा नाघेको बताए । उनले जनतालाई तर्साएर लिम्बुवान प्राप्तिको आन्दोलन सफल नहुने दाबी गरे । यसअघि शनिबार राति प्रतिकारका क्रममा झापाको अर्जुनधारा-६ मा दुईजना लिम्बुवान कार्यकर्ता घाइते भएका छन् । स्थानीय नारायण भारतीको घरमा राति १० बजे लिम्बुवान कार्यकर्ताले आक्रमण गरेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।

No comments: