News

Mar 29, 2009

हङकङमा नेपालीको वृहत विरोध मौन जुलुश

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
गत मार्च १७ मा पुलिसको गोलीबाट घरबारविहीन एक हङकङ निवासी नेपाली दिलबहादुर लिम्बूको मृत्यु भएकोमा विरोधस्वरुप हङकङ नेपाली महासँघको आयोजनामा एक वृहत मौन जुलुशको आयोजना आज अपरान्ह हङकङको वानचाइबाट सेन्ट्रलस्थित हङकङ प्रमुख डोनाल्ड चाङको अफिसमा पुगी विरोधपत्र हस्तान्तरण गरेको छ । जंगलमा बसोबास जीवनलाई बचाउन वाध्य भएको दिलबहादुर लिम्बूको पुलिसको गोली प्रहारबाट मृत्यु भएको थियो ।हङकङ नेपाली महासँघले आयोजना गरेको यस कार्यक्रमलाई हङकङमा रहेका महासँघबाहिरका संघसंस्थाहरुले राम्रो साथ दिएका थिए भने नेपाली बडिबिल्डिङ एस्सोसिएसनका सदस्यहरुलगायत केही संघसंस्थाका सदस्यहरु स्वयंसेवक भई जुलुशलाई नियन्त्रणबाट बाहिर जान नदिन सक्षम भएका छन् । साउथर्न प्लेग्राउण्डमा जम्मा भएका तीनदेखि चार हजार संख्याका नेपालीहरु, केही चाइनिज र विदेशी घरेलु कामदारहरु हङकङ नेपाली महासँघको व्यानर तथा विभिन्न प्ले कार्डहरु बोकेर हिँडेका थिए । मुख्य रोडको आधा भाग मौन जुलुशमा भाग लिनेहरुलाई छुट्याइएको थियो । जुलुशलाई शुरु गर्नु भन्दाअगाडि मानवाधिकार समूहकी डाइरेक्टर फर्मी वोङ, महासँघका उपाध्यक्ष हर्क राना, तथा एक पाकिस्तानीले चाइनिज, अंग्रेजी, नेपाली तथा उर्दूमा शान्तसँग, हङकङको कानूनको पालना गर्दै समूह समूहमा हिँड्नका लागि अनुरोध गरिएको थियो । हालैका वर्षहरुमा नेपालमा नेपालीहरुबाट प्रदर्शन गरिने विरोध शैलीसँग जानकार भएका लाग्ने प्रहरी अधिकृतहरु बारम्बार स्वयंसेवकहरुलाई जुलुशमा अनियन्त्रित हुन नदिन सावधान गराइरहेका देखिन्थे ।तीनदेखि चार हजारको संख्याका उक्त जुलुश शान्त रही प्ले कार्डहरु बोकेर छुट्याइएको बाटोबाट नै गन्तव्यतिर जाँदै गरेका टाढैबाट देखिन्थ्यो । …’हामी बीर छौं, बहादुर छौं, र बुद्दिमान तथा चेतनशील पनि छौं भन्ने दर्शाउन हामी शान्तसँग जुलुशमा भाग लिँदैछौं’ भनी कार्यक्रमलाई सञ्चालन गरेका थिए भने महासँघका अध्यक्ष हेम लिम्बूले ‘सबैलाई शान्त रही हामी नेपालीहरु गम्भीर तथा सम्वेदनशील भएको प्रमाणित गर्न’ सबैलाई आग्रह गरेपछि जुलुश शुरु भएको थियो । जुलुशको बीचमा केही उरन्ठेउला केटाहरु केही हल्ला गर्दै थिए र त्यसमध्ये अलि ज्यादै गर्नेलाई स्वयंसेवकहरुले जुलुशबाट बाहिर निकालेका थिए ।‘मैले सार्वजनिक स्थलमा पिसाव गरेँ…पुलिस मलाई नमार’, ‘घरबारविहीन हुनु, बेरोजगार हुनु संगीन अपराध होइन’, ‘मानव अधिकारको रक्षा गर’, ‘निष्पक्ष जाँचबुझ आयोगको गठन गरी गोली हान्ने पुलिसलाई कारबाही गर’ आदि प्लेकार्डहरु बोकिएको थियो भने, आयोजकहरुले भनेविपरीत नेपाली केही संस्थाले आफ्नो संस्थाको छुट्टै ब्यानर र केही समूहले ‘अल्पसंख्यकहरु अपराधी होइनन्’ भन्ने प्लेकार्ड पनि बोकेका थिए, जसलाई त्यसरी सामेल नगराइने बताइएको थियो । सवा तीन बजे शुरु भएको जुलुश पाँच बजेको करीव समाप्त भएको थियो ।हङकङका चिफ एक्जेक्युटिभ डोनाल्ड चाङको अफिसमा पुगी सानो कोण सभामा परिणत भएको उक्त कार्यक्रमलाई किसन राईले संचालन गरेका थिए भने यस विरोध समितिका प्रवक्ता गणेश इजमले चिफ एक्जेक्युटिभ चाङलाई दिइने विरोध पत्र पढेर सुनाएका थिए, जसको चाइनिज भाषाको भर्सनचाहिँ मानवाधिकार समूहकी फर्मी वोङले पढेकिथिईन् । महासँघका अध्यक्ष हेम लिम्बूले चिफ एक्जेक्युटिभका प्रतिनिधिलाई उक्त विरोधपत्र हस्तान्तरण गरेका थिए ।गणेश इजमले ‘यसरी घरबारविहीन हङकङवासी नेपालीको प्रहरीको अत्यधिक शक्तिको प्रयोगले गर्दा भएको मृत्युमा गम्भीर रुपमा आपत्ति जनाउँदै यसरी यो कार्यक्रमको आयोजना गरिएको र पुलिसको हेडक्वाटरमा नगई यहाँ आउनुमा जाँचपडताल गरिने समिति निष्पक्ष आफूहरुले मान्न सक्ने’ बताएका थिए भने कार्यक्रमलाई विसर्जन गर्ने क्रममा अध्यक्ष लिम्बूले, ‘हङकङ नेपाली महासँघको आहृवान यसरी एकजुट भई, अनि शान्त रही जुलुशमा भाग लिने’ सबैलाई धन्यवाद दिएका थिए । किसन राईले ‘यदि यो पटकको यस विरोध प्रदर्शनी तथा विरोध पत्रअनुसार कारबाहीहरु नगरे नेपालीहरु माथिसम्म जाने’ भनेका थिए ।

No comments: