News

Mar 28, 2009

प्रधानमन्त्री नर्वे र फिनल्याण्ड भ्रमणका लागि प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अपरान्ह सरकारी र व्यापारीक प्रतिनिधि सम्मिलित १९ सदस्यीय टोलीको नेतृ्त्व गर्दै नर्वेको ओस्लो प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालले त्यहाँ नर्वेका राजा र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने छन् । नर्वे भ्रमणका क्रममा द्धिपक्षीय विकास सहयोग सम्बन्धी समझदारी पत्रमा दुवै मुलुकका परराष्ट्र सचिवहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ ।नर्वे भ्रमण सकि प्रधानमन्त्री दाहाल चैत १९ गते फिनल्याण्ड जाने छन् । त्यहाँ उनले फिनिस राष्ट्रपतिसँग भेटवार्ता गर्नुका साथै विभिन्न उद्योग तथा नविकरणीय उर्जा सम्बन्धी परियोजनाहरूको अध्ययन भ्रमण गर्ने छन् । भ्रमण सकि प्रधानमन्त्री दाहाल चैत २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि गत माघ ४ गतेका लागि तय भएको यो भ्रमण मुलुकको आन्तरीक कारण देखाउँदै दाहालले स्थगित गरेका थिए । यसैबीच प्रधानमन्त्री दाहालले आफ्नो युरोप भ्रमण सबै दलको सहमतिमा हुन लागेको बताएका छन् । मुलुकमा राजनीतिक संकट गहिरिँदै गएका बेला विदेश भ्रमणमा गए गलत नजिर बस्ने भन्दै अन्य दलहरूले विरोध गरिरहँदा उनको यस्तो भनाइ आएको हो । सिंहदरवारमा जारी एकीकृत माओवादीको संविधानसभा दलको बैठकबाट वाहिरिएपछि संचारकर्मीसँग कुरा गर्दै उनले भ्रमणप्रति दलहरूले समर्थन जनाएको बताए ।छलफलका क्रममा सत्तारुढ र प्रतिपक्षी दलहरूले एकपटक स्थगीत भइसकेको भ्रमणलाई फेरी रोके मुलुकको प्रतिष्ठामा आँच आउने भएकाले भ्रमणलाई नरोक्ने सुझाव दिएको उनले बताए । उनले सरकारले जारी गरेको अध्यादेश जनताका पक्षमा भएकाले सदनमा त्यसको विरोध नहुने विश्वास ब्यक्त गरे । उनले वुटबल घटनाका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउदै घटनालाई राजनीतिककरण नगर्न आग्रह समेत गरे ।

No comments: