News

Mar 22, 2009

बालबालिकाले बालविवाह रोक्न कडा कानुनको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङका बालबालिकाले बालविवाह रोक्न कडा कानुनको माग गरेका छन् । अहिले पनि समाजमा वालविवाह भइरहेको बताउँदै उनीहरूले नयाँ बन्ने संविधानमा बालविवाह गराउनेलाई कडा सजायको व्यवस्था गर्न आग्रह गरेका छन् ।विराटनगरमा शनिबार आयोजित 'हामी बालबालिकाले चाहेको संविधान' कार्यक्रममा राय/सुझाव संकलन गर्न आएका सभासद्को टोलीसमक्ष बालबालिकाले आमाबाबुबाट छोराछोरीबीच भइरहेको विभेद अन्त्य गर्ने व्यवस्था संविधानमै उल्लेख गर्न आग्रह गरे । बालबालिका माथि समाजको हरेक क्षेत्रबाट भइरहेको अन्याय, शोषण, दमन र उत्पीडनको विषयमा सभासद्लाई अवगत गराउँदै उनीहरूले सुनौलो भविष्यका लागि नयाँ संविधानले उचित कानुनी प्रबन्ध गरिदिन माग गरे ।कार्यक्रममा बहिरा बालक सिसम श्रेष्ठले भने, 'बालश्रम गराउनेलाई ढाड भाँच्ने खालको सजाय तोकियोस् ।' कार्यक्रममा बालिका नैनाकुमारी सरदारले बालबालिका बेचविखन र ओसारपोसार गर्नेलाई फाँसीसम्मको सजाय तोक्न माग गरिन् । उनले भनिन्, 'दाइजो प्रथा नहटेकाले कडा कानुन बनाएर अन्त्य गर्नुपर्छ ।' लगातारको बन्द-हडतालका कारण पढाइमा बाधा परेको गुनासा गर्दै बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्रसँगै बन्द-हड्ताल अन्त्यका लागि संविधानमा कडा व्यवस्था गर्न माग गरे । उनीहरूले राज्यबाट प्रदान गरिने सेवासुविधा अपांगमैत्री बनाउन, सबै किसिमका द्वन्द्वबाट पीडित बालबालिकालाई विशेष संरक्षण राज्यले व्यवस्था गर्न आग्रह गरे । सबै विद्यालयलाई बालमैत्री बनाउन, दण्ड र दुव्र्यवहारविना पढ्ने वातावरण बनाउन, गरिबीका कारण पढाइ छोडेर श्रममा संलग्न हुनुपरेको अवस्थाको अन्त्य गर्न, बहिरा बालबालिकाका लागि दोभासेको व्यवस्था गर्न, सांकेतिक भाषा अरूलाई पनि सिकाउने व्यवस्था गर्न, विभिन्न सन्धि-सम्झौता अक्षरस कार्यान्वयन गर्नुपर्नेलगायतका विषय संविधानमै उल्लेख गर्न सभासद्लाई सुझावसमेत दिए ।कार्यक्रममा सभासद् यशोदा अधिकारीले बालिकामाथि बलात्कार गर्नेलाई फाँसीको सजायको कानुनी व्यवस्था हुनुपर्ने बताएकी थिइन् । उनले अब बन्ने नयाँ संविधानमा वालबालिकाका सबै अधिकार समेटिने आश्वासन पनि दिएकी थिइन् । 'त्यसपछि बालबालिकाले अधिकारका लागि कुनै किसिमको आन्दोलन गर्नुपर्दैन,' सभासद् अधिकारीले भनिन् ।

No comments: