News

Mar 30, 2009

दिसा खुवाउने 'हेडमास्टर्नी'लाई पक्राउ गर्न धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बोक्सीको आरोपमा दलित महिलालाई दिसा गर्न लगाई खुवाउने प्रधानाध्यापिकालाई तत्काल गिरफ्तार गर्न माग गर्दै संयुक्त दलित विद्यार्थी संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएको छ । धर्नामा सभासद् र नेताहरूले पनि साथ दिएका छन् । नौ दिन बितिसक्दा पनि प्रशासनले अभियुक्तलाई गिरफ्तार नगरेको भन्दै विद्यार्थी, सभासद्लगायत दलितसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले आइतबार बिहान साढे १० बजेदेखि एक बजेसम्म धर्ना दिएका थिए । धर्नाकारीले एक घन्टासम्म प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तालाबन्दी गरी सबै काम ठप्प पारे । धर्ना दिन सभासद्हरू खड्ग बस्याल सार्की, सन्तबहादुर नेपाली, विनोद पहाडी, धर्मशिला चापागाईं, एमाले केन्द्रीय सदस्य जितु चापागाईं र पूर्वसांसद सुशीला नेपाल पुगेका थिए । आन्दोलनकारीले पीडकलाई गिरफ्तार नगरेसम्म प्रशासनसँग वार्तामा नबस्ने घोषणा गरेको सभासद् विनोद पहाडीले जानकारी दिए । आइतबार पनि अभियुक्तलाई पक्राउ नगरे सोमबार १० बजेदेखि एक बजेसम्म जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम ठप्प पार्ने उनको भनाइ थियो । मंगलबार बस्ने संसद् बैठकमा पनि दलित महिलामाथिको ज्यादतिबारे आवाज उठाउने पहाडीले बताए ।प्रहरीले भने अभियुक्त फरार रहेको र पक्राउ गर्ने प्रयास जारी रहेको बताएको छ । ललितपुर प्युटार- ७ की दलित महिला कल्लीकुमारी विकलाई स्थानीय गढीभञ्ज्याङ प्राविकी प्रधानाध्यापिका विमला लामाले बोक्सीको आरोप लगाउँदै दिसा कोच्याएकी थिइन् । उता प्युटारकै सचेत युवाहरूले बोक्सीको आरोपमा दिसा खुवाउने बर्बर अन्यायको विरोध गरेका छन् । प्युटारका युवा तथा बौद्धिक वर्गका नामबाट जारी वक्तव्यमा भनिएको छ, 'सबै प्युटारवासी बोक्सीमा विश्वास राख्दैनन् र सो बर्बर कार्यमा संलग्न दोषीलाई संरक्षण गर्न सबैको संलग्नता छैन ।' उनीहरूले दोषी प्रधानाध्यापिकालाई गिरफ्तार गरिसकेपछि पनि प्रहरीकै संलग्नतामा छोडिएको आरोप लगाएका छन् । दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न युवाहरूले माग गरेका छन् ।

No comments: