News

Mar 23, 2009

लिम्बुवानसम्बद्ध समूहका बन्दका कारण पूर्वको जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्बुवानसम्बद्ध विभिन्न समूहले गरेको अनिश्चितकालीन बन्दका कारण पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबारदेखि गरिएको बन्द आइतबार तेस्रो दिन पनि जारी छ । प्रहरीको गोली लागेर मृत्यु भएका विद्यार्थी मनिल तामाङलाई सहिद घोषणा, गृहमन्त्रीको राजीनामालगायतका माग राखेर लिम्बुवानसम्बद्ध संगठनले बन्द आह्वान गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा गत बिहीबार झापाको धुलाबारी क्याम्पसमा प्रहरीसँगको झडपमा तामाङको मृत्यु भएको थियो । बन्दका कारण खाद्यवस्तु अभाव तथा अन्य सेवाका क्षेत्रसमेत प्रभावित भएका छन् । गन्तव्यतर्फ हिँडेका र अस्पतालमा बिरामी लिएर आएकाहरू यातायात सञ्चालन नहुँदा बिचल्लीमा परेका छन् । यसैगरी, विभिन्न १० सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको पिछडावर्ग महासंघको बन्दका कारण सुनसरीको इनरुवा क्षेत्रमा यातायात सञ्चालन भएको छैन । पिछडावर्गलाई आरक्षण लागू गर्नुपर्ने, सरकारीस्तरमा पिछडावर्ग प्रतिष्ठान गठन गरिनुपर्नेलगायतका माग राख्दै बन्द आह्वान गरिएको हो । बन्दका कारण आइतबार सर्लाही, सिराहा, सप्तरी, सुनसरी र मोरङको जनजीवन पनि कष्टकर भएको छ ।संखुवासभामा एकीकृत माओवादीका कार्यकर्ताले गरेको बन्दका कारण जनजीवन तेस्रो दिन आइतबार पनि प्रभावित भएको छ । प्रहरीको गोली लागेर आपना सातजना कार्यकर्ता घाइते भएको विरोधमा शुक्रबारबाट माओवादीले बन्द आह्वान गरेको हो । बन्दका कारण खाँदबारी, तुम्लिङटार, चैनपुर मानेभञ्ज्याङलगायतका बजार प्रभावित भएका छन् । यसैबीच, ताप्लेजुङका दर्जन सरकारी कार्यालयमा संघीय लिम्बुवान राज्यपरिषद्ले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

No comments: