News

Mar 19, 2009

रक्षाको निर्णय परिवर्तन नहुने स्पष्ट प्रधानमन्त्रीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले सेनाका जर्नेलहरुको म्याद नथप्ने रक्षाको निर्णय परिवर्तन नहुने स्पष्ट पारेका छन् । उनले सेनाका बारेमा बढी चर्चा परिचर्चा गरिएको भन्दै अनावश्यक चर्चा गरेर सेनालाई राजनीतिमा नतान्न आग्रह समेत गरे । बिहीबार बिहान प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई उनकै निवासमा भेटेर दाहालले अवकाश प्राप्त जर्नेलहरुको म्याद थपिदा कानुनी अड्चन आउने बताउँदै उनीहरुको पुनर्बहाली गर्न नसकिने स्पष्ट पारेका हुन् ।भेटको सुरुमै कोइरालाले म्याद नथपिएका सेना अधिकारीहरुको पुनर्बहाली गर्न आग्रह गरेका थिए । भेटमा सहभागी काँग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीका अनुसार प्रधानमन्त्रीले आगामी दिनमा सैनिक अधिकारीको पदावधि थप्ने विषयमा अन्य दलसंग छलफल गर्ने आश्वासन दिएका थिए ।काँग्रेसले रक्षाको निर्णयले सेनाको स्वतन्त्र पहिचानमा समेत प्रभाव पर्ने र मनोबल गिर्ने तर्क राखेको थियो । भेटमा कोइरालाले यहि २८ गते हुन लागेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कर्मचारी सरुवा, स्ववियु निर्वाचन लगायत समसामयीक राजनीतिक घटनाक्रमका विषयमा दुई नेताबीच छलफल भएको केसीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले काँग्रेसलाई सरकारमा सहभागी हुन पुनःआग्रह गरेका थिए । जवाफमा कोइरालाले अहिले सरकारमा जाने वातावरण तयार नभइसकेको बताएको केसीले जानकारी दिए ।

No comments: