News

Mar 26, 2009

नेपालले भारतबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने भएको छ। प्राधिकरणले सो विद्युत् भारतको ऊर्जा दलाल कम्पनी पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) मार्फ रामनगर-गण्डक प्रसारणलाइनबाट आयात गर्ने तयारी गरेको छ। विद्युत् आयात गर्ने विषयमा प्राधिकरण र पीटीसीबीच सहमति भए पनि विद्युत्को मूल्य तय हुन बाँकी रहेको प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।उहाँका अनुसार पीटीसीले विद्युत् प्रतियुनिट भारतीय ५ रुपियाँ ५२ पैसा अर्थात् ८ रुपियाँ ८३ पैसामा दिने प्रस्ताव गरेको छ भने प्राधिकरणले यसमा घटाउन अनुरोध गरेको छ। यसअघि प्राधिकरणले टनकपुरबाट प्रतियुनिट ४ रुपियाँ ५२ पैसा भारू अर्थात् ७ रुपियाँ २० पैसामा आयात गरिरहेको छ। यो मूल्य बढी भएकाले घटाउने प्रयास गरिरहेको छौं’ -श्रेष्ठले भन्नुभयो। भारतमा अहिले लोकसभाको चुनावका साथै विद्युत् संकट बढ्दै गएको र विद्युत्को मूल्य पनि बढेकाले यसको असर आयातमा पनि पर्न थालेको भनाइ उहाँको छ।यो विद्युत् गण्डक प्रसारणलाइन हुँदै पश्चिम बुटवलमा पुर्याइने भएको छ। विद्युत् सुक्खायामका लागि भएकाले आवश्यकताअनुसार आयात गर्न सकिने उहाँले बताउनुभयो।यसअघि पीटीसीले नेपालको ऊर्जा संकट समाधानका लागि ५ सय मेगावाट विद्युत् दिने प्रस्ताव गरेको छ। पीटीसीले सो प्रस्ताव गरे पनि नेपालमा विद्युत् ल्याउनका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएकाले सो विद्युत् तत्काल आयात हुने सम्भावना छैन। अहिले दुहबी-कटैया प्रसारणलाइनबाट ५० तथा टनकपुरबाट २० गरी जम्मा ७० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ।

No comments: