News

Mar 21, 2009

दलित परिवारलाई घर बनाउन रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कथित उपल्लो जातकाले घर जलेका सप्तरीका एक दलित परिवारलाई पुख्र्यौली थलोमा घर बनाउन रोक लगाएका छन् । पुस्तौँदेखि सप्तरीको कमलपुर गाविस-३मा बसोवास गर्दै आएका स्थानीय सुभक मरिक -डुम)को परिवारलाई 'छोइन्छ' भन्दै घर बनाउन कथित उपल्ला जातकाले रोक लगाएका हुन् । उनी तीन पुस्तादेखि अहिलेकै ठाउँमा बस्दै आएका छन् । गत २९ फागुनमा मरिककोसहित स्थानीय दुई दर्जन परिवारको करिब एक सय ४५ घर-टहरा आगलागीमा परेर नष्ट भएका थिए । आगलागीमा मरिकको सम्पत्तिको नाममा रहेका तीनवटा फुसका घर, सुँगुर, अन्नपातलगायत सबै जलेर खरानी भएको छ । घर जलेपछि पुनः बनाउन खोजेका उनलाई स्थानीय उपल्ला जातकाले रोकेका छन् । 'आगलागी भएको एक साता बितिसक्यो, घर बनाउन पाएको छुइनँ,' उपल्ला जातिले बनाउन नदिएको गुनासो गर्दै मरिकले भने, 'डुम जातिलाई नजिक राख्न हुँदैन भन्दै १० जना उपल्ला जातकाले घर बनाउन रोक लगाएका छन् ।' स्थानीय ललित साह, रामेश्वर साह, गलुवा साहलगायतले सुभकको जग्गासमेत आफ्नो भएको दाबी गर्दै घर बनाउन रोक लगाएको पीडितले बताए । 'घर बनाउन रोक लगाएपछि एक सातादेखि त्रिपालमुनि सुत्न बाध्य छौँ,' आफ्नो तीन पुस्ता सोही जग्गामा बसेको बताउँदै सुभकले भने, 'मेरो तीन पुस्ताले यही ठाउँमा बितायो, कहिल्यै कसैले जग्गा मेरो हो भन्न आएन । आगलागीबाट घर जलेपछि पुनः बनाउन लाग्दा खम्बा उखलेर उपल्ला जातिकाले रोक लगाएका छन् ।' सुभक परिवारलाई उपल्लो जातकाले सार्वजनिक धाराको पानी प्रयोग गर्नसमेत दिएका छैनन् । नजिकको धाराबाट पानी लिन नपाएको गुनासो गर्दै उनले भने, 'एक सातादेखि राष्ट्रिय प्राथमिक विद्यालयमा धाएर पानी ल्याएको छु ।' आफ्नो घरको ट्युबबेल भने आगलागीबाट नष्ट भएको उनले जनाए । घर-छिमेककोमा पानी लिन गएमा ट्युबबेलमा छोयो भन्दै कुट्ने गरेको बताउँदै उनले थपे, 'एक दिन पानी लिन गालु साहको कलमा गएको थिएँ, सानो जात भएर टुबेल छुने भन्दै उल्टै खुकुरी लिएर काट्न आए ।' छुवाछूत गरिएको भन्दै सुभकले प्रहरी चौकी फत्तेपुरमा उजुरी दिएका छन् । तर, त्यहाँका प्रहरीले बेवास्ता गरेको उनले बताए । प्रहरी निरीक्षक रमेशकुमार तामाङले फत्तेपुर प्रहरी चौकीलाई घटनाबारे बुझेर मिलापत्र गर्न निर्देशन दिएको बताए ।

No comments: