News

Apr 20, 2009

८५ प्रतिशत प्रश्नपत्र कहाँ अड्किए, पत्तो छैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभासद्हरूले नयाँ संविधानका लागि जनताको सुझाव संकलन गर्न जिल्ला जाँदा लगेका प्रश्नपत्रहरूको करिब १५ प्रतिशत मात्रै सचिवालयमा फिर्ता आएका छन् । बाँकी ८५ प्रतिशत प्रश्नपत्र कहाँ अड्किए, पत्तो छैन । सुझाव संकलनका लागि संविधानसभा सचिवालयले करिब ३७ लाख प्रति प्रश्नपत्र छपाइ गरेको थियो । ती प्रश्नपत्र बोकेर सभासद्हरू सुझाव माग्न जनताको घरदैलोमा पुगेका थिए । तर, सुझावसहितका चार लाख ९४ हजार सात सय तीन प्रश्नपत्र मात्रै सचिवालयलाई फिर्ता भए । प्रश्न जटिल भएका कारण सुझाव कम आएको अनुमान सचिवालयको छ । 'हामीकहाँ आइपुगेका त्यत्ति हुन्, बाँकी जिल्लातिरै होलान्,' संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले नयाँ पत्रिकासित भने । प्रश्नपत्र लगेर पनि जनताले सुझाव नलेखेको हुनसक्ने उनले बताए । सभासद्हरूको टोलीले प्रश्नपत्रहरू संकलन गरेर सचिवालयमा पठाउने जिम्मा सम्बन्धित जिल्लाको प्रशासन कार्यालयलाई दिएर फर्किएको थियो । उनीहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै राजनीतिक दलहरू सम्मिलित स्थानीय नागरिक सम्बन्ध समिति गठन गरेर प्रश्नपत्रहरू संकलन गर्ने जिम्मा दिएका थिए । 'स्थानीय प्रशासनले संकलन गरेर सचिवालयमा पठाउनुपर्ने हो, तर धेरै कम आइरहेका छन् । के भयो कुन्नि !,' प्रवक्ता शर्माले भने ।रोचक कुरा, सचिवालयलाई प्राप्त सुझावहरूको तथ्यांक हेर्दा सबैभन्दा धेरै सुझाव भरेका प्रश्नपत्र रुकुम र जाजरकोटबाट आएका छन् । ती जिल्लामा खटिएको सभासद्हरूको टोली नम्बर २८ ले ४६ हजार ९ सय सुझाव भरेका प्रश्नपत्र संकलन गरेको छ । त्यस्तै, सबैभन्दा थोरै सुझाव बाजुरामा खटिएको टोली नम्बर ४० ले संकलन गरेको छ । सो टोलीले एक हजार एक सय ४४ सुझाव मात्रै संकलन गरेको छ । त्यस्तै, सप्तरी र खोटाङमा खटिएको टोली नम्बर ८ ले एक हजार एक सय ५० र बारा, पर्सा र रौतहट गरी तीन जिल्लाको सुझाव संकलन गरेको सभासद्हरूको टोली नम्बर १२ ले एक हजार पाँच सय ३० सुझाव मात्रै संकलन गरेको छ । ललितपुरमा खटिएको टोलीले पनि दुई हजार ४२ सुझाव मात्रै संकलन गरेको सचिवालयले जनाएको छ ।प्रश्नपत्रमार्फत नभई जनताले खुला रूपमा पनि १२ हजार दुई सय ९१ सुझाव दिएका छन् । खुला सुझाव सबैभन्दा धेरै कैलाली, कञ्चनपुर र डडेल्धुराबाट प्राप्त भएका छन् । ती जिल्लाबाट दुई हजार दुई सय ५० खुला सुझाव प्राप्त भएको सचिवायले जनाएको छ । प्रश्नपत्र भरेर आएका र खुला रूपमा प्राप्त सुझावलाई सचिवालयले सम्बन्धित समितिहरूमा पठाएको छ । सचिवालयका अनुसार सबैभन्दा धेरै सुझाव राज्यको शासकीय स्वरूप निर्धारण समितिलाई प्राप्त भएका छन् । उक्त समितिलाई देशभरिबाट ५७ हजार पाँच सय २२ सुझाव प्राप्त भएका छन् । त्यस्तै, सबैभन्दा थोरै सुझाव प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिलाई आएका छन् । सचिवालयका अनुसार ३२ हजार तीन सय ६६ सुझाव आएका छन् । त्यस्तै, संवैधानिक समितिलाई ३४ हजार पाँच सय ७३ सुझाव प्राप्त भएका छन् । नयाँ संविधान निर्माणका लागि जनताको सुझाव संकलन गर्न संविधानसभा सचिवालयले करिब ३७ लाख प्रश्नपत्र छपाएको थियो । प्रतिपन्ना ३६ पैसाका दरले जनक शिक्षा सामग्री केन्द्रमा ३६ लाख प्रति प्रश्नपत्र छपाइएका थिए भने बाँकी प्रश्नपत्र सचिवालयले आफ्नै छापाखानामा छापेको थियो ।सुझाव संकलन गर्न संविधानसभाका सबै समितिले आ-आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयहरूको प्रश्नावली तयार गरेका थिए । जनतामा लैजान सचिवालयले सबै समितिले तयार गरेका प्रश्नहरूको सँगालो छपाइ गरेको थियो ।

No comments: