News

Apr 28, 2009

आफ्नै वृत्तचित्र 'हिउँका लप्काहरू' हेरे प्रधानमन्त्री प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सेनापति प्रकरणका कारण राजनीतिक भेटघाटमा व्यस्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपराह्न एउटा वृत्तचित्र हेरेर डेढ घन्टा बिताए । प्रचण्डले नै नेतृत्व गरेको जनयुद्धका विविध आयाम समेटिएको वृत्तचित्र 'हिउँका लप्काहरू' रसियन सांस्कृतिक केन्द्रमा देखाइएको थियो, जसको अधिकांश प्रसंग प्रचण्डसँग सम्बन्धित थियो भने त्यसको उद्घाटनसमेत प्रचण्ड स्वयंले गरेका थिए । अपराह्न ३ बजे वृत्तचित्र प्रदर्शनीस्थल पुगेका अध्यक्ष प्रचण्ड थकित मुडमा थिए । करिब पौने दुई घन्टा वृत्तचित्र हेरिरहँदा सहभागीमध्ये धेरै अचम्ममा थिए । वृत्तचित्र हेर्न प्रचण्डका साथमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, रक्षामन्त्री रामबहादुर थापा बादल, शान्तिमन्त्री जनार्दन शर्मा, नेताहरू राम कार्की र वर्षमान पुन अनन्त पनि पुगेका थिए । जनयुद्ध सकिएपछि माओवादी भएका नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि प्रचण्डसँगै उपस्थित थिए प्रदर्शनीस्थलमा । 'यो वृत्तचित्र जनयुद्धका धेरै आयाममध्येको केही आयाम हो,' वृत्तचित्र हेरिसकेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया थियो । भारतीय वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्माको प्रस्तुति रहेको वृत्तचित्रको निर्माण नेपाली मानवअधिकारवादी संस्था अन्तराष्ट्रिर्य ऐक्यबद्धता समूह -गि्रन्सो) नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले संयुक्त रूपमा गरेका छन् । ज्ञानदीपको संगीत तथा अतुलको स्वर रहेको वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर, झक्कुप्रसाद सुवेदी, प्रचण्ड-पिता मुक्तिराम दाहाल, सभासद् देवी खड्का तथा जनमुक्ति सेनाका कमान्डरहरूको अन्तर्वार्ता समेटिएको छ । यद्यपि, मंगलबार वृत्तचित्रको आधा प्रस्तुति मात्रै देखाइएको थियो । वृत्तचित्रका लेखक तथा प्रस्तुतकर्ता बर्माले भने, 'प्राविधिक कारणले आधा मात्रै देखाउन सकियो । उहाँ जुन प्रविधिमा बनाइयो, यहाँ त्यस्तो प्रविधि थिएन ।' वृत्तचित्र प्रदर्शनीमा एमालेका वरिष्ठ नेता अमृतकुमार बोहोरादेखि भुटानी मानवअधिकार आन्दोलनका वरिष्ठ नेता टेकनाथ रिजालसमेत सहभागी थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेताहरू बदला लिन क्रान्तिमा होमिएको दृष्टान्त प्रस्तुत गरिएको छ वृत्तचित्रमा । जहाँ आन्दोलनमा लाग्नुको कारणबारे चितवनका स्थायी बासिन्दा प्रचण्डले पुष्टि गरेका छन्, 'सानोमा बुबासँग एकजना धनी व्यक्तिको घर नारायणघाट जाँदा उसले मेरो बामाथि गरेको अपमानले मलाई छाप पार्‍यो । बदला लिने मेरो दिमागमा आयो र आन्दोलनमा होमिएँ । ' त्यसो त उनले फ्यानका रूपमा लिएका रुसी नेता लेनिन पनि भाइको हत्यापछि आन्दोलनमा लागेको उदाहरण प्रचण्डले दिएका छन् ।

No comments: