News

Apr 26, 2009

लिम्बुवान प्रभावित १० जिल्लामा अपरेसनको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वतन्त्र लिम्बुवान राज्यको माग गर्दै हिंसा बढ्न थालेपछि सरकारले पूर्वीपहाडका लागि विशेष सुरक्षा रणनीति लागू गर्ने भएको छ । रणनीतिअनुसार सरकारले १० जिल्लामा १० हजार प्रहरी खटाउने तयारी गरेको छ । विशेष सुरक्षा योजनामा परेका जिल्लामा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा र उदयपुर छन् । स्रोतका अनुसार वैशाखको दोस्रो साताबाट चयन भएका जिल्लाहरूमा विशेष सुरक्षा योजनाअनुसारको काम सुरु हुनेछ ।अहिले प्रायः पहाडी जिल्लामा तीन सय ५० प्रहरी छन् । तर, लिम्बुवान प्रभावित जिल्लामा भने पाँच सयका दरले प्रहरी परिचालित छन् । नयाँ रणनीतिअनुसार हरेक जिल्लामा हजारभन्दा बढी प्रहरी खटिनेछन् । अहिले चौकीमा खटिएका प्रहरीसँग थि्रनटथ्री र सटगन मात्र छन्, अब संवेदनशीलता हेरेर अत्याधुनिक हतियार एसएलआर दिने तयारी छ । लिम्बुवान मुक्ति मोर्चा, संघीय लिम्बुवान राज्यपरिषद् डम्बर लावती समूह, संघीय लिम्बुवान राज्यपरिषद सञ्जुहाङ पालुङ समूह, संघीय लिम्बुवान राज्यपरिषद् कुमार लिङदेन समूह, संयुक्त लिम्बुवान मोर्चा, पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्च, किराँत लिम्बुवान राष्ट्रिय मञ्च र पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चलगायतका संगठनहरू लिम्बुवान क्षेत्रमा सक्रिय छन् । यी संगठनमध्ये पल्लोकिराँत लिम्बुवान राष्ट्रिय मञ्चका गतिविधिलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । सो संगठनले तमोर नदीपारिका नौ जिल्लालाई स्वतन्त्र राष्ट्र घोषणा गरी सशस्त्र गतिविधि गर्दै आएको छ ।पृथ्वीनारायण शाहसँगको विशेष सहमतिको आधारमा नेपालमा गाभिएका ती क्षेत्रहरू नेपालमा राजतन्त्रको अस्तित्व समाप्त भएलगत्तै सहमति खारेज भएको दाबी गर्दै मञ्चले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, मोरङ, झापा र इलामलाई स्वतन्त्र राष्ट्र भएको दाबी गरिरहेको छ । यसको नेतृत्व महासचिव शेर्माहाङ याक्थुम्बाले गरेका छन् । प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना रणनीति तय गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयले योजना स्वीकृत गरी कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । गृह-प्रवक्ता नवीन घिमिरेले पनि योजना अहिले गृहकार्यको चरणमै रहेको जानकारी दिए । 'आन्तरिक गृहकार्यमा रहेको कुरा अहिले नै कसरी प्रेसलाई भन्न मिल्छ ? जब सबै गृहकार्य पूरा हुन्छ अनि भनौँला नि,' घिमिरेले नयाँ पत्रिकासित भने ।प्रहरी प्रवक्ता विजयलाल कायस्थले १० जिल्लामा विशेष सुरक्षा अभियान सञ्चालनको तयारी गरेको बताए । उनले छनोटमा परेका १० जिल्लामा प्रहरी जनशक्ति र उनीहरूको क्षमता बढाउने तयारी गरेको जानकारी दिए । कायस्थले पनि यसबारे थप जानकारी दिन मानेनन् । उनले भने, 'ती जिल्लाको सुरक्षा-व्यवस्था मजबुत बनाउन जे-जस्तो कदम आवश्यक पर्ने हो, त्यसको तयारी गरिएको छ ।'

No comments: