News

Apr 20, 2009

हङकङ र फ्रेन्ड्स क्लब क्वार्टरफाइनलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङसँगै ललितपुरको फ्रेन्ड्स क्लब पेप्सी सेभन ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने अन्तिम दुई टोली बनेका छन् । काठमाडौंको दशरथ रंगशालामा आइतबार खेलाइएको पहिलो खेलमा हङकङले वालिङको टि्रनिटी क्लबलाई २-१ ले हराउँदा अर्को खेलमा फ्रेन्ड्सले भारतको वेस्ट बंगालललाई ३-१ ले हरायो । पहिलो खेलमा टि्रनिटीले आकर्षक खेल खेले पनि 'फिनिसिङ' को कमजोरी लुकाउन नसक्दा हारको सामना गर्नुपर्‍यो । उता, हङकङलाई सेभन ए साइड फुटबलको पुरानो अनुभवसँगै भाग्यले पनि जितमा साथ दियो । खेलको नवौँ मिनेटमा नरेन लिम्बूले डी-बक्सबाहिरबाट हानेका बलले जाली चुमेपछि हङकङले अग्रता लिएको थियो । पहिलो हाफमा हङकङले आफ्नो अग्रतालाई जोगाए पनि दोस्रो हाफको खेल सुरु भएको तेस्रो मिनेटमै टि्रनिटीका राकेश लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, खेलको ३४औँ मिनेटमा हङकङका दिपेन आलेले मध्यभागभन्दा झन्डै पाँच मिटर टाढाबाट गरेको लामो प्रहारलाई टि्रनिटीका रक्षक सरोज श्रेष्ठले 'जज' गर्न नसक्दा पाहुना टोलीले फेरि अग्रता लियो । हङकङको त्यही 'कागताली' गोलले निणायक मोड लिँदा टि्रनिटीले घरको टिकट कटाउनुपर्‍यो । दोस्रो खेलमा कोलकाताको टोलीले आफ्नो अग्रतालाई निरन्तरता दिन सकेन । खेलको १५औँ मिनेटमा मोहम्मद आलमले आकर्षक गोल गर्दै विदेशी टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ६ मिनेट पनि बित्न नपाउँदै निराज खड्काले खेललाई बराबरीमा ल्याउँदै टोलीको आत्मविश्वास पनि बढाए । खेलको २५औँ मिनेटमा नुरराज काफ्लेले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । त्यसपछि, वेस्ट बंगालले खेललाई रोचक बनाउने कोसिस गरिरहे पनि फ्रेन्ड्सको रक्षापंक्तिलाई भत्काउन सकेन । उता, फ्रेन्ड्सले इस्ट बंगालको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे पनि 'फिनिसिङ' कै कमजोरीका कारण थप गोलबाट वञ्चित भइरहनुपर्‍यो । खेलको अन्तिम समयमा वेस्ट बंगालका रक्षक काफी उमेद मैदानको मध्यभागसम्म आएको मौका छोप्दै अजित प्रधानले फ्रेन्ड्सलाई थप एक गोल उपहार दिए । प्रतियोगितामा सोमबार हुने दुई क्वार्टरफाइनलमध्ये पहिलोमा आयोजक टोली र सशस्त्र प्रहरी तथा दोस्रोमा एनआरटी र नेपाली सेनाको जम्काभेट हुनेछ ।

No comments: