News

Apr 21, 2009

उपहारस्वरूप ओबामालाई दिएको किताब बेस्ट सेलरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भेनेज्वेलाका नेता ह्युगो चाभेजले उपहारस्वरूप अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिएको एक किताब रातारात बेस्ट सेलर भएको छ । उनले सो किताब अमेरिकी मुलुकको शिखर सम्मेलनका अवसरमा उपहार दिएका हुन् । 'ल्याटिन अमेरिकाका खुलेका नशा एक महादेशको लुटपाटका पाँच शताब्दी' शीर्षकको सो किताब नम्बर दुईको बेस्ट सेलरमा उक्लेको छ । उरुग्वेका लेखक एडुवार्डो गालियानोले लेखेको सो किताबले विगत पाँच शताब्दीमा दक्षिणी अमेरिकामाथिको विदेशी हस्तक्षेपको प्रभावलाई विषयवस्तु बनाएको छ र करिब पाँच शताब्दीअघि स्पेनले सो महादेशलाई जितेयता अहिलेसम्मको प्रभावको आँकलन गरिएको छ । यो किताब वामपन्थीहरूले अति नै मन पराउने किताबमध्येको एक हो । चाभेजले सिटबाट जुरुक्क उठेर ओबामाकहाँ आएर किताब उपहार दिई हात मिलाएपछि ओबामा छक्क परेका थिए । स्पेनिस भाषामा लेखिएको यो किताबमा चाभेजले लेखेका छन्- 'बाराक ओबामाका लागि, सस्नेह ।' एकैछिन्पछि, ओबामाले भने, 'राम्रो, राम्रो । मलाई किताब उपहार दिनु शुभसंकेत हो भन्ने मलाई लाग्छ । आखिर म पाठक हुँ ।' उता राष्ट्रपति चाभेजका लागि यो एक गम्भीर विषय हो । यो किताब ल्याटिन अमेरिकाका लागि एक स्मारक हो । 'यसले हामीलाई इतिहास सिक्न लगाउँछ र हामीले यसैमाथि इतिहासको निर्माण गर्नुछ,' चाभेजले पत्रकारसँग भने । चाभेजका लागि यो नौलो कुरा होइन, उनले लेखकलाई उचालेका छन् । चाभेजले तीन वर्षअघि संयुक्त राष्ट्रसंघमा भाषण दिँदा अमेरिकी बौद्धिक नोम चोम्स्कीको भाग्य रिटेको थियो । चाभेजले भाषण गर्दा चोम्स्कीको 'प्रभुत्ववाद या जीवन - विश्व दमनका लागि अमेरिकी खोज' शीर्षकको किताब सन्दर्भमा ल्याएपछि अमेजन डटकममा पहिलो नम्बरको बेस्ट सेलर बन्न पुगेको थियो । युरोप र अमेरिकाका किताब पसलेले केही दिनभित्रै कयौं थान किताब बिक्री गरेका थिए र दसौं हजार प्रति किताबका लागि प्रकाशककहाँ माग आएको थियो ।

No comments: