News

Apr 16, 2009

भाषाको सर्वेक्षण टोलीले झापामा थप भाषाको पहिचान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकभर बोलिने भाषाको सर्वेक्षणका लागि पहिलोपटक खटिएको भाषाविद्को टोलीले झापामा थप एउटा भाषाको पहिचान गरेको छ । झापाको मेचीनगर र टोक्ला कमान आसपासमा माउ जातिको 'माल पहाडे' भाषा पहिचान भएको हो । माल पहाडेसँगै झापामा भाषाको संख्या ४३ पुगेको छ । 'समाज भाषा वैज्ञानिक सर्वेक्षण' नाम दिइएको भाषा अध्ययन कार्यक्रमअन्तर्गत नमुना सर्वेक्षणका लागि एक साताअघिदेखि भाषाविद्को २३ सदस्यीय टोलीले काम थालेको थियो । भाषा अध्ययन टोलीमा प्राध्यापक डा. माधवप्रसाद पोखरेल, प्राध्यापक डा. चूडामणि बन्धु, प्राध्यापक डा. नवलकिशोर राई, प्राध्यापक निर्मलकुमार तुलाधरलगायत छन् । झापामा बहुभाषिक समाज भएकाले यहाँबाट भाषाको अध्ययन सुरु गरिएको टोलीले जनाएको छ । मेचीनगर ११ को सतिघट्टा वारिपट्टि बसोवास गर्ने माउ जातिको बस्तीमा सो भाषा फेलापारेको भाषाविद् प्राध्यापक डा. पोखरेलले बताए । 'सतिघट्टा क्षेत्रमा ५-६ घरका ५० देखि ६० जनाले माल पहाडे भाषा प्रयोग गर्दारहेछन्,' डा. पोखरेलले भने, 'उनीहरूले प्रयोग गर्ने भाषा भारोपेली परिवारको छ ।' भाषाविद्को टोलीले गरेको प्रारम्भिक अनुमानमा उनीहरूले प्रयोग गर्ने माल पहाडे भाषा भारतको सिन्धी, राजस्थानी भाषासँग मिल्दोजुल्दो रहेको छ । 'ध्वनि विश्लेषणका आधारमा उनीहरू भारतकै झारखण्ड प्रान्तबाट पूर्वी नेपाल आएका हुन सक्छन्,' डा. पोखरेलले भने । सतिघट्टापछि टोकला चिया कमान क्षेत्रमा यस जातिको बसोवास भएको टोलीले जनाएको छ । २७ चैतबाट भाषाको सर्वेक्षण सुरु गरेको टोलीले एकै परिवारका तीन पुस्तासम्म सो भाषाको प्रयोग भएको जनाएको छ । टोलीले हालसम्म झापामा प्रचलित ४२ वटा भाषामध्ये १५ वटाको सर्वेक्षण गरिसकेको छ । जसमा राजवंशी, सन्थाल, बंगला, मारवाडी, किसान (सादरी), मेचे, मुण्डालगायत जातिको भाषा सर्वेक्षण गरिएको हो । झापाका ४७ वटै गाविस र तीन नगरपालिकामा पुगेर स्थानीय समुदायले बोल्ने गरेको भाषा र त्यसको प्रकृतिका विषयमा अध्ययन गर्ने टोलीले जनाएको छ । टोलीले मातृभाषामा बनेका फिल्म, प्रकाशित पत्रपत्रिका, पाठ्यपुस्तकबाट भाषाको सवलीकृत अवस्था पत्ता लगाउनेछ । टोलीले एक महिनाको अवधिमा झापाका विभिन्न भाषाको सर्वेक्षण गर्ने डा. पोखरेलले बताए । राष्ट्रिय योजना आयोगले भाषा सर्वेक्षणका लागि एक वर्षअघि सरकारलाई सिफारिस गरेको थियो । सरकारले पछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागलाई भाषाको सर्वेक्षणको जिम्मा दिएको थियो । पछिल्लो राष्ट्रिय जनगणना ०५८ बाट पत्ता लागेका भाषा र थप अन्य भाषाको सर्वेक्षण गर्ने टोलीको लक्ष्य छ । स्थानीय समुदायका मानिसले बोलेको भाषा रेकर्ड गरेर त्यसको सूक्ष्म अध्ययन गरिने डा. पोखरेलले बताए । 'रेकर्ड गरिएको भाषाको व्याकरण र शब्दकोश बनाएर विस्तृत अध्ययन गर्छां,' उनले नयाँ पत्रिकासँग भने, 'भाषा अध्ययनबाट भाषाको अवस्था र दर्जा पनि पत्ता लगाउँछौँ ।' टोलीले नेपालीका अतिरिक्त, मैथिली, हिन्दी, राजवंशी, गनगाई, मेचे, धिमाल, खडिया, सादरी, करुवा सन्थाललगायतका भाषाको स्थिति जाँच्ने डा. पोखरेलले जानकारी दिए ।

No comments: