News

Apr 17, 2009

वन तस्करले वन फडानी गराई बस्ती बसाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानीय वन तस्करले खयर र सिसौको घना वन फडानी गराई बाराको रजुवामा बस्ती बसाएका छन् । मकवानपुरको धियालबाट ६५ घरधुरीलाई ल्याएर तस्करले खयर काट्न लगाई बस्ती बसाएका हुन् । चुरे क्षेत्रमा पर्ने सो स्थानमा हुर्किसकेका हजारौँ खयर र सिसौ काटेर धमाधम बस्ती विस्तार हुन थालेको छ । तस्करले सो बस्तीमा काटिएका खयर बाराका विभिन्न कत्था उद्योगमा लगी बिक्री गर्ने गरेका छन् । व्यापक रूपमा खयर कटान हुन थालेपछि अवैध कटान रोक्न केही समयअघि दुई सयको हस्ताक्षरसहित दीपक खड्काको नेतृत्वमा बुधबार जिल्ला वन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको थियो । वनमा बस्ती बसाउनेविरुद्ध उजुरी गर्ने भरतगन्ज सिंगोलका स्थानीयवासीका ६ वटा पानीघट्टमा तस्करले आगो लगाइदिएको घन्सार सिँचाइ उपभोक्ता समितिका अध्यक्ष ओम भण्डारीले बताए । उनले भने, 'त्यहाँ बस्ती बसेर पहाडबाट आउने पानीको मुहान थुनिने र सिँचाइ गर्न नपाउने भएपछि भरतगन्ज सिंगोलका बासिन्दा उजुरी गर्न बारा, मकवानपुर र रौतहट पुगेका हौँ ।' बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले खयर फडानी भई बसेको बस्ती रजुवा आफ्नो सिमानामा नपर्ने हुनाले कारबाही गर्न नमिल्ने बताए । उजुरी गरिएका तीनैवटा जिल्लाका वन अधिकृतले तस्करलाई कारबाही गर्न नमिल्ने भनेर फर्काइदिएको स्थानीयवासीले बताएका छन् । उनीले वन अधिकृत र तस्करको मिलेमतोमा वन फडानी भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे । खयर काटेबापत तस्करले प्रतिव्यक्ति पाँच सय रुपैयाँ दिने र वन फडानीपछि बनेको जग्गामा खेती गर्न मिल्ने लोभमा धियालदेखि मानिस आएको सिंगोलका राम थापाले बताए । तस्करले ठूलो परिमाणमा खयर लगिसकेपछि पनि गत आइतबारदेखि खयरका रूखमा आगो लगाउन थालेका छन् । केही साताअघि रौतहटबाट मध्यरातमा खयर बोकी आएका तीनवटा ट्रकलाई सशस्त्र प्रहरी पथलैयाले पक्राउ गरी जिल्ला वन सिमरामा बुझाएको थियो । खयरको सरकारी मूल्य तीन सय रुपैयाँ प्रतिक्युफिट रहे पनि कत्था उद्योगले एक हजारभन्दा बढीमा खरिद गर्ने गरेको पाइएको छ ।

No comments: