News

Apr 24, 2009

तस्करहरूव्दारा सामुदायिक वन फँडानी तीव्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तस्करले रूपन्देही देवदह क्षेत्रका सामुदायिक वन फँडानी तीव्र पारेका छन् । तस्करहरू वन फँडानी गर्न बन्दुक लिएर आउन थालेपछि उपभोक्ता टुलुटुलु हेरेर बस्न विवश छन् । हतियारसहित सुरक्षाकर्मी नखटाएसम्म वन फँडानी नियन्त्रण गर्न नसकिने उपभोक्ताले बताएका छन् । वन-तस्कर हतियार बोकेर आउन थालेपछि उपभोक्ताले वनमा गस्ती गर्न छाडेका छन् । वन फँडानीमा उपभोक्ताको समेत सहयोग रहेकाले नियन्त्रण गर्न गाह्रो भएको स्थानीयवासीले बताएका छन् । देवदह गाविसमा दर्ता भएका, दर्ताको प्रक्रियामा रहेका र प्रस्तावित गरी १५ वटा सामुदायिक वन छन् । स्मृति सामुदायिक वनका पदाधिकारीले तस्करसँग मिलेर वन फँडानी तीव्र पारेपछि उपभोक्ता समिति विघटनको तयारीमा छन् । यहाँका बुद्ध सामुदायिक वन, स्मृति सामुदायिक वन र चरन कालिका सामुदायिक वनमा फँडानी बढी भएको उनीहरूले बताएका छन् । समितिका पदाधिकारीले वनमा गएर काठ बेच्ने गरेको उपभोक्ताको दाबी छ । देवदहका गाविस सचिव डिल्लीराज मरासिनीले वन समितिका पदाधिकारीकै मिलेमतोमा फँडानी बढेपछि जनतामा निराशा छाएको बताए । 'बन्दुक लिएर वन फँडानी गर्न आउँछन् जनताले के गर्न सक्छन् र ?' उनले नयाँ पत्रिकासँग भने, 'फँडानी नियन्त्रणबारे सातदलसँग पनि छलफल गरेका छौँ, तर हतियार लिएर फाँड्न आउनेलाई नियन्त्रण गर्न हतियारसहित सुरक्षाकर्मी पठाएमात्र सम्भव होला नत्र गाह्रो छ ।' वन फँडानी रातको समयमा बढी हुने गरेको सचिव मरासिनीले बताए । उनका अनुसार देवदहमा घोडाहा खोलादेखि उत्तरपट्टि र खैरेनीदेखि उत्तरपट्टको वनमा बढी फँडानी भएको छ । वन फँडानी बढेको अवस्थामा केही दिनअघि मात्रै दुई ट्रयाक्टर काठ जनताले समातेका थिए । जिल्ला वन कार्यालय रुपन्देहीका निमित्त प्रमुख शिवकुमार वाग्लेले वन फँडानी भएको जानकारी पाएपछि बुधबार हतियारसहित एउटा सवारीसाधनमा गस्तीका लागि टोली पठाएको बताए । रुपन्देहीमा धेरै सामुदायिक वन रहेको गाविसअन्तर्गत पर्ने देवदहमा चारवटा वनलाई समुदायमा हस्तान्तरण गरिएको रुपन्देहीका सहायक वनअधिकृत गिरिराज पन्तले बताए । एक सय ८० हेक्टर वन यी चारवटा सामुदायिक वनले ओगटेको छ । रुपन्देहीमा आठ हजार चार सय हेक्टर वन छ । ७९ वटा सामुदायिक वनले दर्ताका लागि विधान पेस गरेकोमा ६६ वटा वन हस्तान्तरण भएका छन् ।

No comments: