News

Apr 21, 2009

आफ्नै प्रेमिकाको सामूहिक बलात्कारपछि हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कन्चनपुरका एक युवाले साथीहरूसित मिलेर आफ्नै प्रेमिकाको सामूहिक बलात्कारपछि हत्या गरेका छन् । भीमदत्त नगरपालिका- ७, हल्दुखालका मनोज चन्दले तीन साताअघि हल्दुखालकै प्रेमिका कलावती सिंहलाई बलात्कारपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा परेको छ ।प्रेमिकाले बिहे गर्न दबाब दिएपछि मनोजले साथीहरू भीमदत्त- ७ कै कर्णबहादुर चन्द र भीमदत्त- ६ का मदन धामीसमेतलाई लगाएर तीन साताअघि कलावतीलाई बलात्कार गरी हत्या गरेको किटानी जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले पनि कलावतीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ ।कलावतीको बायाँ हातमा 'आई लभ मनोज' लेखिएको छ । सोही आधारमा अनुसन्धान गर्दा कलावतीको हत्या आफ्नै प्रेमीबाट भएको पत्ता लागेको प्रहरीले बताएको छ । कन्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर चन्दले कलावतीकी आमा राधिकादेवी सिंहले छोरीको बलात्कारपछि हत्या भएको किटानी जाहेरी दिएको र सोही आधारमा थप अनुसन्धान भइरहेको बताए । गत १६ चैत बिहान सात बजे खल्दुखालस्थित आफ्नै घरभित्र कलावतीको शव भेटिएको थियो । उनका परिवारजनले आत्महत्या गरेको भनेर प्रहरीमा जानकारी पनि दिएका थिए । पोस्टमार्टमका लागि सोही बिहान १० बजे कलावतीको शव महाकाली अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पोस्टमार्टम गर्दा शरीरमा घाउ र बायाँ हातमा 'आई लभ मनोज' लेखिएको भेटिएको थियो । सोही आधारमा सोधी-खोजी गर्दै गएपछि बलात्कार गरी हत्या गरेको खुलेको हो ।कन्चनपुर जिल्ला प्रहरी कार्यालय अनुसन्धान तथा मुद्दा शाखाले कलावतीको बलात्कारपछि हत्या गरिएको भनेर तीनैजना युवकलाई पक्राउ गरेको छ । १९ वर्षीया कलावती र २४ वर्षीय मनोजको दुई वर्षदेखि प्रेम-सम्बन्ध रहेको कलावतीकी दिदी सरस्वतीले बताइन् । कलावतीले बिहे गर्ने कुरा गरेपछि मनोजले पन्छिन खोजिरहेको उनले बताइन् । 'कलावती बिहे गरौँ भन्थिन्, मनोज नाइँ भन्ने गथ्र्यो' सरस्वतीले उनीहरूको सम्बन्धका बारेमा बताउँदै भनिन् 'बिहेकै कुरामा घरमै आएर उस (मनोज)ले झगडा पनि गथ्र्यो ।'उनीहरूको सम्बन्धका बारेमा उनका परिवारलाई समेत जानकारी रहेको सरस्वतीले बताइन् । जसले गर्दा मनोज घरमा आए पनि कलावतीको परिवारले केही भन्ने गरेको थिएन । तर, मनोजले पछिल्लो समयमा आएर कलावतीसँग टाढिन खोजेको सरस्वतीले बताइन् । 'कलावती बिहे गरौँ भनेर जिद्दी गर्थिन्, ऊ बिहे गर्दिनँ भनेर झगडा गथ्र्यो' सरस्वतीले घटना हुनुभन्दा दुई दिनअघि मनोजले कलावतीको घरमै आएर झगडा गरेको बताइन् । गाउँ-घरमा सबैले चर्चा गर्न थालेपछि कलावतीले बिहे गर्न जिद्दी गरेको उनको भनाइ छ । १५ चैतमा पनि मनोजले आफ्ना दुईजना साथी कर्ण र मदनसहित कलावतीको घरमा आएर झगडा गरेको थियो । सो राति अबेरसम्म उनीहरू त्यहीँ बसेको सरस्वतीले बताइन् । 'बिहान सात बजेसम्म त्यहीँ थिए,' सरस्वतीले भनिन् । 'हामी सबै गहुँ काट्दै थियौँ, उनीहरू घरमै थिए,' सरस्वतीले १६ चैतको बिहानी सम्भिँदै भनिन्, 'उनीहरू गएपछि आमा घरभित्र जानुभयो, भित्र त बहिनी (कलावती) को लास भेटियो ।' गत बुधबार कलावतीकी आमा राधिकाले कन्चनपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । प्रहरीलाई दिएको किटानी उजुरीमा पनि मनोजसहितका तीनजनाले कलावतीको सामूहिक बलात्कार गरी हत्या गरेको दाबी गरिएको छ । सोही जाहेरीका आधारमा कन्चनपुर प्रहरीले मदनलाई आइतबार बेलुकी तथा मनोज र कर्णलाई सोमबार बिहान पाँच बजे पक्राउ गरेको हो ।उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको अनुसन्धान तथा मुद्दा शाखा प्रमुख नरपति भट्टले जानकारी दिए । कन्चनपुर जिल्ला अदालतबाट सोमबार नै अनुसन्धानका लागि तीनदिने म्याद थप गरिएको छ ।

No comments: