News

Apr 27, 2009

राजधानीमा पेट्रोलियम पदार्थ अभाव कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १४ - केही दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव सोमबार पनि कायम छ । अधिकांश पम्पमा पेट्रोल छैन भन्ने ब्यानर टाँगिएका देखिन्छन भने तेल दिएका पम्पमा लामो लाइन लाग्ने गरेको छ ।कर्फ्यु लगाएर आइतबारदेखि आयल निगमले इन्धन ल्याउने तयारी गरेपछि मंगलबारदेखि राजधानीमा आपूर्ति केही सहज हुने अनुमान गरिएको छ ।आइतबार बिहान रक्सौलमा लोड भएका ट्यांकर सोमबार अबेर राजधानी आइपुग्ने हुँदा मंगलबारदेखि सहज हुने निगमका कार्यकारी निर्देशक दिगम्बर झाले भने ।'मंगलबारदेखि सहज हुन्छ,' उनले भने, 'तर बन्द नखुलेसम्म यसरी नै कर्फ्यु लाएर ल्याउनुपर्ने हुन्छ ।' आइतबार राति हिँड्ने तयारीमा रहेका ट्यांकर ल्याउन बारा र चितवनमा कर्फ्यु लगाउनुपर्ने झाले बताए ।निगमका अनुसार आइतबार रक्सौलबाट १ सय ६६ ट्यांकरमा करिब २२ सय किलोलिटर इन्धन लोड भएको छ । जसमध्ये ६ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटर डिजल सोमबार काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।राजधानीमा हरेक दिन २ सय ५० किलोलिटर पेट्रोल र करिब ४ सय किलोलिटर डिजलको माग रहन्छ । अहिले दुई दिनका लागि पेट्रोल र तीन दिनका लागि डिजल स्टक रहेको जानकारी झाले दिए । यता हवाईइन्धन भने ३० दिनको स्टक निगमसँग रहेको उनले बताए ।तराईमा विभिन्न समयमा हुने बन्द हडतालले उपभोक्तालाई मात्रै होइन सरकारलाई पनि प्रभावित पारेको छ । एक दिन इन्धन आयात नहुँदा करिब ३ करोड रुपैयाँ सरकारलाई राजस्व नआउने झाले बताए । 'भन्सार र मूल्य अभिवृद्धि कर गरी हामी दैनिक ३ करोड बुझाउँछौं,' उनले भने ।गएको ४५ दिनमा आयल निगमले ३० दिनमात्रै इन्धन आयात गरेको झाले बताए । 'यस अवधिमा ६ दिन टिपर दुर्घटनाका कारण, ७ दिन सुकुम्बासीहरूको आन्दोलन, दुई दिन भन्सारमा तालाबन्दी, १२ दिन थारूहटको पहिलो आन्दोलन र ६ दिन ट्यांकर हडतालले इन्धन आयात भएन,' उनले भने ।

No comments: