प्रचूर मात्रामा विद्युत उत्पादनको सम्भावना बोकेको नेपालले अनपेक्षितरुपमा लोडसेडिङ्ग भोगिरहेको छ । जलसम्पदामा धनी भएर पनि नेपाल अल्पविकसित राष्ट्रको रुपमा रहन बाध्य छ । आफ्नै देशभित्र रोजगारीको प्रसस्त सम्भावना हुँदाहुँदै पनि विश्वका विभिन्न राष्ट्रहरुमा हामी नेपालीहरु रोजगारीको निमित्त भौंतारिन बाध्य छौं । यो विडम्बना हो । जलविद्युत आयोजनाहरु नै त्यस्ता आयोजनाहरु हुन् जसबाट हजारौंहजारलाई सहजै रोजगारी सिर्जना गर्न सकिन्छ । ती आयोजनाहरुबाट प्रत्यक्ष रोजगारीका साथै बहुसंख्यक स्थानीय जनताहरुलाई अप्रत्यक्ष रोजगारीको अवसर दिलाउन सकिन्छ । नेपालले अल्पविकसित राष्ट्रमा रहन बाध्य हुनुपरेको मुख्य कारणमध्ये बेरोजगारी समस्या पनि एक प्रमुख कारण हो । 'रोजगारी’ सिधै जनताको आर्थिक जीवनसंग गांसिएको विषय हो । जनतालाई आर्थिकरुपमा सम्पन्न नबनाइ देशको अर्थतन्त्रले आशातित् सफलता हासिल गर्न सक्दैन । यसो गर्नको लागि देशमा उपलब्ध जलसम्पदालाई बढी भन्दा बढी उपयोगमा ल्याइनुपर्छ । वरदानको रुपमा उपलब्ध जलस्रोतलाई विद्युत उत्पादनको काममा लगाउने हो भने देशलाई बहुआयमिक फाइदा हुनेछ । एकातिर बेरोजगार नेपाली जनतालाई रोजगारी दिलाउन सकिनेछ भने अर्कातिर स्वदेशमा रहेको उपलब्ध पू“जीलाई लगानी गरी मनग्यै आय आर्जन गर्न सकिनेछ । त्यसैगरी उत्पादित विद्युत शक्तिलाई स्वदेशमा खपत गरी देशलाई औद्योगिकरण गर्न सकिनेछ भने स्वदेशमा खपत हुन नसक्ने विद्युत शक्तिलाई विदेश निर्यात गरेर विदेशी मुद्रामा आय आर्जन गरी देशलाई आर्थिकरुपमा सबल बनाउन सकिनेछ । नेपालमा ८३ हजार मेगावाट जलविद्युत शक्ति उत्पादन हुन्छ भनिए तापनि करीब २ लाख मेगावाट जलविद्युत शक्ति उत्पादनको सम्भावना देखिन्छ । नेपालीमा इच्छाशक्ति बढ्ने र दृढ आकांक्षा हुने हो भने जलविद्युतबाटै नेपाललाई विश्वको सुन्दर, सम्पन्न र समृद्ध राष्ट्र बनाउन सकिनेछ । नेपाल सरकार दश वर्षा दशहजार मेगावाट जलविद्युत उत्पादन गरी वर्तमानमा देशले भोग्नुपरिरहेको भयावह लोड्सेडिङ्गबाट उन्मुक्ति दिलाइ देशलाई समृद्ध, सम्पन्न र समुन्नत बनाउने 'उद्घोष्’ गरी कार्यान्वयनमा अघि बढिरहेको अवस्थामा निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुले पनि संगठितरुपमा सरकारको महत्वाकांक्षी कार्यक्रमलाई बल दिनु प्रासांगिक हुनाकासाथै दायित्वसमेत भएको ठहर गरिएको छ ।विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरु संगठितरुपमा अगाडि बढ्न नसकेको यथार्थ तपाई हामी सामु र्छलङ्गै छ । जलविद्युत क्षेत्रमा नेपालका निजी क्षेत्र लघु, साना, मध्यम र ठूला जलविद्युत आयोजनाहरुमा विभिन्न तरिकाले सम्लग्न भइरहेको अवस्था छ जो सकारात्मक छ तर निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको साझा संगठनको अभावले गर्दा संगठित आवाज उठ्न नसकिरहेको अवस्था छ । व्यवसायीहरुले सरकारी एवम् विभिन्न क्षेत्रबाट अनावश्यकरुपमा अनेकन प्रकारका समस्याहरुको सामना गरिहनुपरेको छ जसले गर्दा आयोजना कार्यान्वयनमा नकारात्मक असर पर्नाका साथै कार्य सम्पन्न गर्नमा विलम्बसमेत हुनेगरेको छ । निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको हक, हित, अधिकार र दायित्व तथा कर्तव्य बोध गराउनाकासाथै देश विकासमा निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुबाट महत्वपूर्ण योगदान पुर्याउनको निमित्त व्यवहारिक, वैज्ञानिक र आधुनिकप्रविधिबाट जलविद्युत तथा उर्जा व्यवसाय सञ्चालन गर्न एउटा साझा संगठनको स्थापना अपरिहार्य भएको महसुस् गरिएको छ । त्यसरी बन्ने साझा संगठनमा लघु जलविद्युत तथा उर्जा कम्पनीका प्रवर्तकदेखि ठूला जलविद्युत तथा उर्जा कम्पनीका प्रवर्तकहरुलाई एकै ठाउमा रहने वातावरण बनाउनाकासाथै सदस्यहरुलाई समान अवसर दिने कुरामा मिति २०६६ वैशाख ६ गतेको निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको काठमाण्डौमा सम्पन्न भेलाका सहभागी उर्जा उत्पादकहरुको समान धारणा रहेको पाइयो । भविष्यमा बन्ने साझा संगठनका सदस्यहरुमा काम र जिम्मेवारीदेखि बाहेक अन्य कुनै कारणबाट श्रेणी विभाजन हुनुहुदैन किनभने लघु जलविद्युत तथा उर्जा व्यवसायी कुनै दिन मध्यम तथा ठूला जलविद्युत तथा उर्जा व्यवसायी पनि बन्न सक्नेछन् भन्ने विचारलाई र्सवसम्मतीबाट स्वीकार गरियो । व्यक्ति अथवा संस्थाले गर्ने व्यवसायको आकार एवम् प्रकारलाई आधार मानी विभाजनको सीमा कोरिइनु उचित हुदैन । यसै मान्यताअनुरुप देशभरिका निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायी र जलविद्युत तथा उर्जा व्यवसायसंग सम्बद्ध संघसंस्थाहरुलाई समेटेर तिनले भोग्नुपर्ने समस्याहरुको समाधान एवम् नया र वैज्ञानिक प्रविधि खोजी जलविद्युत तथा उर्जा व्यवसाय सञ्चालन गरेर देशको विकासमा संगठितरुपमा सम्लग्न हुन निजी क्षेत्रका जलविद्युत तथा उर्जा व्यवसायीहरुको छाता संगठनको रुपमा एउटा संगठनको स्थापना अत्यावश्यक भएको महसुस् गरी भेलाले एक उर्जा महासंघ स्थापना गर्ने निर्णय गर्यो । यसरी बन्ने महासंघ कुनै संघसंस्थाप्रति प्रतिस्पर्धी बन्ने छैन बरु यसले तालमेल मिलाइ सबै संघसंस्था र संगठनहरुसंग लक्षित उद्देश्य प्राप्तिका लागि सहकार्य गर्नेछ ।उक्त निर्णयलाई मूर्तरुप दिन हाललाई 'उर्जा उत्पादक महासंघ, नेपाल’ (Federation of Energy Producers, Nepal) स्थापना गरी उर्जा महासंघको स्थापनार्थ गृहकार्य अर्थात् पूर्व तयारीको लागि भेलामा उपस्थित उर्जा व्यवसायीहरुको सहभागितामा १९ सदस्यीय एक 'तदर्थ समिति’ बनाइएको छ । उक्त तदर्थ समितिले छ महिनाभित्रमा व्यापक तयारी तथा गृहकार्य गरी सकेसम्म सबैप्रकारका उर्जा व्यवसायी एवम् उर्जा सम्बद्ध संघसंस्थाहरुलाई समेटेर वृहतरुपमा 'प्रथम राष्ट्रिय भेला’ बोलाउनेछ ।
तदर्थ समिति
१. संयोजक - श्री भानेन्द्रकुमार लिम्बू - स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड
१. संयोजक - श्री भानेन्द्रकुमार लिम्बू - स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड
२. सहसंयोजक - श्री कृष्णप्रसाद भण्डारी - काष्ठमाण्डप हाइड्रोपावर कं. प्रा. लि.
३. सहसंयोजक - श्री शैलेन्द्र गुरागाइँ - वरुण हाइड्रोपावर कम्पनी लिमिटेड
४. कोषाध्यक्ष - श्री शिशिर रञ्जितकार - कञ्चनजंघा इनर्जी डेभलपर्स कं. प्रा. लि.
५. सचिव - श्री कलमबहादुर खत्री - रामारोशन हाइड्रोपावर प्रा. लि.
६. सदस्य - श्री शोभित उप्रेती - एस्. एस्. इन्टरनेशनल
७. सदस्य - श्री रामकृष्ण श्रेष्ठ - ब्लू इनर्जी प्रा. लि.
८. सदस्य - श्री अर्जुन गुरुङ्ग - डेल्टा कोर प्रा. लि.
९. सदस्य - श्री लोकबहादुर पुन - एस्. सी. पावर कम्पनी
१०. सदस्य - श्री रबिन प्रधान - हाइड्रोटेक इनर्जी प्रा. लि.
११. सदस्य - श्री बिक्रम बिष्ट - मुनलाइट हाइड्रोपावर
१२. सदस्य - श्री जगतकुमार भुसाल - हिम् कन्सल्ट प्रा. लि.
१३. सदस्य - श्री प्रदिप श्रेष्ठ - इनर्जी जेनेरेशन प्रा. लि.
१४. सदस्य - श्री यादवराज मैनाली - कलश हाइड्रोपावर
१५. सदस्य - श्री लालबहादुर थापा - संमृद्धि हाइड्रोपावर कं. प्रा. लि.
१६. सदस्य - श्री विजय पन्त - डी पावर सोलुसन
१७. सदस्य - श्री लेखनाथ बगाले - अभानी हाइड्रोपावर प्रा. लि.
१८. सदस्य - श्री दिपक नेपाल - सनराइज हाइड्रोपावर कं. प्रा. लि.
१९. सदस्य - श्री नामगेल दोर्जे लामा - लामा हाइड्रोपावर प्रा. लि.
भानेन्द्रकुमार लिम्बू
संयोजक
प्रथम राष्ट्रिय भेला तदर्थ समिति
मितिः २०६६ वैशाख ८
No comments:
Post a Comment