News

Apr 29, 2009

शान्ति-सम्झौताप्रति प्रधानसेनापति प्रतिबद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ वैशाख प्रधानसेनापति र उनका सहकर्मी दुईजना वरिष्ठतम् सैनिक अधिकारीले संविधान, प्रचलित कानुन र विगतका शान्ति-सम्झौताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् । सेनाका तीनैजना शीर्षस्थ अधिकारीले शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन राज्य र जननिर्वाचित प्रतिनिधिहरूलाई हरेक सहयोग गर्ने तत्परता पनि व्यक्त गरेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालले बुधबार अपराह्न विज्ञप्ति जारी गरी सैनिक नेतृत्वमा मनमुटाव भएको समाचार खारेज गर्दै सेना चेन अफ कमान्डमा प्रतिबद्ध रहेको बताएका छन् । सेनाको दोस्रो र तेस्रो वरियताका बलाध्यक्ष कुलबहादुर खड्का र बलाधिकृत छत्रमानसिंह गुरुङले पनि कटवालको भनाइप्रति समर्थन जनाएका छन् । 'प्रधानसेनापतिले भन्नुभएको कुराप्रति मेरो पूर्ण सहमति, समर्थन र प्रतिबद्धता छ,' खड्का र गुरुङले हस्ताक्षर गरेका छन् । उनीहरू तीनैजनाले सेनाको गैरराजनीतिक चरित्रलाई कायम राख्दै संस्थागत विकास गर्न र राष्ट्रिय चरित्रलाई अझ व्यापक र जनताकेन्दि्रत बनाउन सेना सक्षम रहेको बताएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार अपराह्न सेनापतिसहित खड्का, गुरुङ र उच्चपदस्थ अधिकृतहरू उपस्थित समारोहमा सेनाको संगठनात्मक ऐक्यबद्धतामाथिको प्रतिबद्धता गरिएको थियो । स्रोतका अनुसार सेनापति कटवालले प्रस्तुत गरेको विज्ञप्तिमा बलाध्यक्ष र बलाधिकृतले हस्ताक्षर गरेका हुन् । प्रधानसेनापतिकै कार्यालयमा प्रतिबद्धतासम्बन्धी भिडियो पनि रेकर्ड भएको थियो । भिडियोमा प्रधानसेनापतिले दायाँ-बायाँ खड्का र गुरुङलाई राखेका छन् । बुधबारै बोलाइएको वरिष्ठ जनरलहरूको बैठकमा सेनापति कटवालले वरिष्ठ अधिकारीहरूबीच फाटो आएको प्रचार भइरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए । स्रोतका अनुसार कटवालले सो बैठकमा सरकारबारे कुनै टिप्पणी गरेनन् । बैठकमा कटवालसहित दुई रथी, उपरथीहरू तोरणजंगबहादुर सिंह, गौरवशमशेर राणा, अनिलजंग थापा, अनन्त थेबे, नेपालभूषण चन्द, सहायकरथी केशव महतलगायत सहभागी रहेको सैनिक स्रोतले जनाएको छ । सैनिक अधिकारीहरूको बैठक अपराह्न २ बजेतिर बोलाइएको थियो भने विज्ञप्ति अपराह्न चार बजे तयार पारिएको थियो ।

No comments: