News

Apr 16, 2009

अमेरिकामा पहिलोपल्ट उडुस सम्मेलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकाले पहिलोपल्ट उडुस सम्मेलन गर्दै छ । यो सम्मेलन फेरि पनि रगत चुसुवा कीरो उडुस देखापरेपछि गर्न लागिएको हो । दशकौंअघि उन्मूलन गरिसकिएको भन्ठानिएको उडुस कतिपय सहरका आवासगृहमा, छात्रावासमा र होटलमा फेरि बौरिएका छन् । उडुस गुन्द्रीमा, सोफा आदिमा राति मानिसको रगत चुस्न बौरिने गर्छन् । यिनले रोगका जीवाणु सार्ने काम नगरे तापनि यिनले टोकेपछि मानिसको अंग सुन्निेने र त्यस ठाउँमा चिलाउनेगर्छ । यसबारे जमिनदार, होटलहरू र आवास अधिकारीको बढ्दो फिरादको सन्दर्भमा अमेरिकी वातावरण संरक्षण एजेन्सीले यो दुईदिने उडुस सम्मेलन बोलाएको हो ।अमेरिकामा अन्तिमपल्ट यति धेरै उडुस दोस्रो विश्वयुद्धअघि देखिएका थिए । यस्ता उडुस प्रायः सस्ता होटल र गरिब झुपडीमा हुन्छन् । अहिले विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय भ्रमण, अध्यागमन र कीटनाशक वस्तुको प्रयोगमा आएको परिवर्तनले गर्दा विकसित मुलुकमा पनि उडुसको पुनरागमन भएको छ । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट तथा स्टेट युनिभर्सिटीकी कीटविद् तथा उडुस विशेषज्ञ डिनी मिलरको भनाइअनुसार उडुस विश्वव्यापी रूपमै बढेका छन् । 'कतिजना मानिस उडुसको टोकाइले आत्तिएर ओछ्यानबाट हुत्तिँदै बाथटबमा रात बिताउँछन्, म तपाईंलाई भन्न सक्छु,' मिलरले भनिन् । अनुसन्धानकर्ताहरूले बताएअनुसार उडुस मार्न म्याट्रेसमा छर्किनका लागि स्वीकृतिप्राप्त असरदार रासायनिक कमै मात्र उपलब्ध हुनु मुख्य समस्या हो । वातावरण संरक्षण एजेन्सीले स्वास्थ्य तथा वातावरणीय कारणले विगत ५० वर्षभित्र धेरै रासायनिक फिर्ता गरिसकेको छ ।

No comments: