News

Apr 26, 2009

आगो निभाउन गएका पाँच गाउँले जलेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हस्तिचौर सामुदायिक वनमा लागेका डढेलो नियन्त्रण गर्न गएका पाँचजनाको शनिबार जलेर मृत्यु भएको छ । दिउँसो १२ बजेदेखि लागेको डढेलो नियन्त्रण गर्ने क्रममा तीन महिला, घरबिदामा गएका एक सैनिकजवानसहित पाँचजनाको मृत्यु भएको हो । स्याउलाले आगो निभाउँदा थप सातजना घाइते भएका छन् ।मृत्यु हुनेमा हस्तिचौर गाविस-३ का ५५ वर्षीय रामलाल घिमिरे, घरबिदामा गएका सैनिकजवान २४ वर्षीय अमरबहादुर कुँवर, ४३ वर्षीया धनकला खत्री, ३० वर्षीया देवकला खत्री र ३५ वर्षीया सीता कुँवरको मृत्यु भएको हो । मृतक एकको सनाखत हुन सकेको छैन । डढेलो नियन्त्रण गर्न नसकिने भएपछि र्फकन थालेका उनीहरूको आगोको लप्कोले चारैतिरबाट घेरेपछि निसास्सिएर बेहोस भएका थिए । तत्काल उद्धारमा अन्य कोही जान नसकेपछि उनीहरूको ज्यान गएको स्थानीय बासिन्दा यमबहादुर कुँवरले बताए । डढेलो रातिसम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । तर, वनक्षेत्रमा रहेका दुई बस्ती भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रकुमार पालिखेले बताए । डढेलोले गाउँलेको ज्यान गएको जानकारी पाएपछि सदरमुकामबाट प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । जिल्ला अस्पतालका डाक्टर सुदर्शन थापाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले मृतकको घटनास्थलमै पोस्टमार्टम गरी शव गाउँलेलाई बुझाएका छन् । एक सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमध्ये रातिसम्मको डढेलोले ६५ हेक्टर जंगल नष्ट गरिसकेको छ । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा हुन नसकेको स्थानीय अशोक कुँवरले बताए । आगो नियन्त्रणका लागि पालिखेको नेतृत्वमा ५० जना नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, नेपाल सेनाका जवान र स्थानीय गाउँले लागेका छन् ।शनिबार नै गुल्मीको पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगा जंगलमा पनि उत्तर क्षेत्रबाट भिषण डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सैनिक जवान र प्रहरीहरू खटिरहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ । त्यस्तै, शान्तिपुर, जुनिया, जोहाङ गाविसका जंगलमा पनि दिउँसोदेखि लागेको डढेलो नियन्त्रण भएको छैन ।

No comments: