News

Apr 22, 2009

संघीयता रोक्न जनमोर्चा सडकमा उत्रियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र स्थापना भइसकेपछि पनि भूमिगत रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादीबाहेक ठूला दलका शीर्ष नेताहरूसँग भेटेर संघीयताको विपक्षमा उत्रिन आग्रह गरेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितसँग सिंहले हालै गोप्य भेटवार्ता गरेका थिए । 'कांग्रेस, एमाले र राप्रपाका नेताहरू माओवादीजति जातिवादी छैनन्,' महामन्त्री सिंहले नयाँ पत्रिकासँग भने, 'बाध्य भएर माओवादीको पछि लागेका मात्र हुन् ।' सिंहले संविधानसभाभित्र जातीय राज्य बनाउनुहुन्न भन्ने पक्षको बहुमत रहेको दाबी गरे । उनले भने, 'माओवादीबाहेक राजनीतिक दलहरूमा पनि संघीयताविरोधीको बहुमत छ ।' महामन्त्री सिंह कांग्रेस सभापति कोइरालाला संघीयताको विषयमा प्रष्ट रहेको ठान्छन् । 'गिरिजाप्रसाद कोइराला प्रचण्डभन्दा संघीयताको विषयमा प्रष्ट छन्,' उनले भने, 'उनी जातीय राज्य र आत्मनिर्णयको अधिकारको विपक्षमा छन्, जसको विरोध हामी पनि गरिरहेका छौं ।' एमाले, राप्रपा र नेमकिपासमेत जातीय राज्य र आत्मनिर्णयको विरोधमा रहेकोमा उनले सन्तोष व्यक्त गरे ।

No comments: