News

Apr 21, 2009

सुरक्षाको लागि प्रहरी कार्यालय पुग्दा उल्टै चन्दा मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हत्या, हिंसा तथा चन्दा-आतंक मच्चाउँदै आएका विभिन्न समूहबाट पीडितहरू प्रहरी कार्यालय पुग्दा उल्टै सुरक्षा अधिकारीले उनीहरूसँग चन्दा मागेका छन् । केही दिनअघि सुरक्षा माग गर्दै प्रहरी कार्यालय पुगेका गाविस सचिवहरूसँग सुरक्षा अधिकारीले चन्दा मागेका हुन् । सुरक्षा माग्दै कार्यालय पुग्दा प्रहरी निरीक्षक श्यामल सुब्बाले 'सुरक्षा चाहिए मासिक रूपमा आफूलाई चन्दा दिनुपर्छ' भनेको सोनमती मझौरा गाविसका सचिव चन्देश्वर ठाकुरले बताए । सिसवनीका सत्यनारायण यादव, भदैयाका रामविलास महतो, ब्रह्मान गोरछारीका धनेश्वर साहलगायतका गाविस सचिवसँग प्रहरी निरीक्षक सुब्बाले चन्दा मागेको सचिव ठाकुरले बताए । उनका अनुसार 'चन्दा दिए ठीक छ, नभए सुरक्षा दिन सकिन्न' भन्दै सुब्बाले सचिवहरूलाई निराश बनाएका थिए । कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक गोइतले सुरक्षाका नाममा चन्दा माग्ने प्रहरी अधिकृतलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । यसैबीच स्थानीय प्रशासनले सुरक्षा-खर्च भन्दै गाविससँग वाषिर्क पाँच हजार लिन थालेको असनपुर गाविसका सचिव कुलबहादुर बस्नेतले बताए । उनका अनुसार दसवटा गाविसले सो रकमसमेत बुझाएका छन् । यसअघि प्रशासनले रकम पठाउन जिविसमा लिखित परिपत्र गरेको बस्नेतले खुलासा गरे । विभिन्न समूहबाट तराईमा शृंखलाबद्ध हत्या हिंसा, अपहरण, चन्दा-आतंकलगायतका घटना भइरहेका छन् । ती समूहबाट बढी पीडित कर्मचारी, व्यवसायी सबैको एउटै गुनासो छ, 'कतैबाट सुरक्षा पाइएन ।' स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने आश्वासन दिए पनि बेवास्ता गरेको कर्मचारीको आरोप छ । कर्मचारी संयुक्त संघर्ष समिति सिराहाका संयोजक प्रदीपकुमार गोइतले प्रशासनबाट सुरक्षाको आश्वासन मात्र पाइएको बताउँदै भने, 'पटक-पटक प्रशासनले कर्मचारीहरूसँग सम्झौता गरे पनि धोका दिएको छ । अब वारपारको आन्दोलन गर्छौं ।' असुरक्षाकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख महिनौँदेखि अनुपस्थित छन् । कतिपय कार्यालय पियनका भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका २५ गाविस सचिवविहीन छन् । असुरक्षित भएको भन्दै सिराहाका सरकारी कर्मचारी तेस्रोपटक आन्दोलित भएका छन् । सिराहामा १२ जना कर्मचारीको हत्या भइसकेको छ । पछिल्लोपटक गत २६ चैतमा बहिरा संघ सिराहाका सुपरभाइजर गयाप्रसाद यादवको हत्या भएको छ । मधेसी साइलेन्ट किलर्सले यादवको हत्या गरेको हो । यादवको परिवारलाई क्षतिपूर्ति तथा सहिद घोषणाको कर्मचारीले माग गरेका छन् । हत्या-हिंसा नरोकिएपछि विभिन्न सात सूत्रीय माग अगाडि सारेर संघर्ष समिति सिराहाले आन्दोलन थालेको छ । सुरक्षा दिने स्थानीय प्रशासनसँगको यसअघिको सहमति कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनुपरेको कर्मचारीले बताएका छन् । कर्मचारीले सुरक्षा प्रबन्ध मिलाउन माग गर्दै सदरमुकाम लाहानमा केही दिनअघि प्रदर्शनसमेत गरे ।

No comments: