News

Apr 17, 2009

हुन्डीजस्ता गैरकानुनी माध्यमबाट रकम नपठाउन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वस्तरीय मनिट्रान्सर्फर कम्पनी मनिग्राम इन्टरनेसनलका दक्षिण एसिया प्रमुख हर्ष लाम्बाले हुन्डीजस्ता गैरकानुनी माध्यमबाट रकम नपठाउन आग्रह गरेका छन् । 'हुन्डीजस्ता गैरकानुनी माध्यबाट रकम पठाउँदा तत्काल लाभ देखिए पनि दीर्घकालमा मुलुकका लागि नै हानिकारक हुन्छ,' बिहीबार मनिग्रामका नेपाली एजेन्टसँगको भेट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । गैरकानुनी तरिकाले आएको रकम आर्थिक प्रणालीभित्र नआउने भएकाले मुलुकको विकासमा योगदान पुर्‍याउन नसक्ने उनले बताए । 'मनिग्रामका लागि नेपाल महत्त्वपूर्ण बजार हो,' उनले भने, 'यहाँको बजार ठूलो छ, हामीले स्थानीय वित्तीय संस्थासँग सहकार्य गर्दै नेटवर्कलाई व्यापक र मजबुत बनाएका छौं । यसले उपभोक्ताको आवश्यकताअनुसार जुनसुकै स्थानमा हाम्रो पहुँच सहज बनेको छ ।' आगामी दिनमा कम्पनीको पहुँच ग्रामीण भागसम्म पुग्ने गरी विस्तार एवं वितरण माध्यम चुस्त पार्ने योजना रहेको उनले बताए । 'नेपालमा हाम्रो उद्देश्य उपभोक्तालाई सुरक्षित र सहज रुपमा सुपथ शुल्कमै पैसा पठाएर तत्कालै भुक्तानी दिने हो', उनले भने, 'विश्वभरका उपभोक्ताले आफूलाई पायक पर्ने तरिकाले रकम प्राप्त गर्ने विकल्प हामीसँग छन् ।'मनिग्रामद्वारा पैसा पाउन प्रापकलाई जुनसुकै मनिग्राम एजेन्टकोमा पुगे पनि हुने उनले बताए । नौ वर्षदेखि नेपालमा सुविधा प्रदान गर्दै आएको मनिग्रामको विश्वका १ सय ९० मुलुकमा १ लाख ७६ हजार एजेन्ट छन् । मनिग्रामको नेपाली एजेन्टका रुपमा हिमालयन बैंक, बैंक अफ काठमाण्डु, नेपाल बंगलादेश बैंक तथा युनाइटेड रेमिट, कृषि पि्रमुरा, इन्टरनेशनल मनिएक्सप्रेस, प्रभु मनिट्रान्सफर, इजी लिंक प्रालि तथा शिव ट्राभल्सलगायत मनि ट्रान्सर्फर कम्पनी रहेका छन् । बजार हिस्सामा विश्वको दोस्रो मनिट्रान्सर्फर कम्पनीका रुपमा रहेको मनिग्रामले ५ प्रतिशत बजार ओगटेको छ । सन् २००८ मा एसिया क्षेत्रमा २५ प्रतिशत बजार विस्तार गरेको कम्पनीले सोही वर्षमा सन्जालमा थप १३ मुलुकका ३३ हजार क्षेत्र समेटेको बताएको छ । एसिया क्षेत्रमा मनिग्रामका ३० हजारभन्दा बढी एजेन्ट छन् ।

No comments: