News

Apr 24, 2009

नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जंगलमा लागेको आगो निभाउन गएका नेपाली सेनाका १३ जना सिपाहीको जलेर मृत्यु भएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित अस्पतालतर्फ आगो आउन थालेपछि नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका थिए । रामेछाप बजारको वादीको जंगलमा बिहीबार बिहान करिब ११ बजे आगो लागेको थियो । आगो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब तीन सयको जनशक्ति खटाएको थियो । 'आगो अस्पतालतिर आउन थाल्यो, जनधनको क्षति हुन नदिन हामीले तत्कालै सुरक्षाका सबै निकाय परिचालन गर्‍यौँ,' प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले नयाँ पत्रिकासित भने । करिब तीन सय सुरक्षाकर्मीले स्याउलाले आगो नियन्त्रणमा लिएका थिए । सफल भएको भन्दै र्फकंदै गर्दा अचानक १३ सैनिकको लास देखेपछि सुरक्षाकर्मी स्तब्ध भएका थिए । 'हामी त आगो निभ्यो भनेर खुसी हुँदै र्फकंदै थियौँ, बाटोमा कसैले एउटा मान्छेको लास देख्यो,' उनले भने, 'को हो भनेर हेर्न जाँदा त एकपछि अर्को १३ वटा लास भेटिए ।'एकै ठाउँमा १३ जनाको मृत्यु कसरी भयो ? अहिलेसम्म अनुमान मात्रै भइरहेको छ । 'आगो निभाउँदै जाँदा उनीहरू खाल्डोमा परेछन्, तल भीर थियो, माथि आगो थियो । बीचमा परेर जलेजस्तो लाग्छ,' प्रजिअ भण्डारीले अनुमान गरे । मृतक तेह्रैजना नेपाली सेनाको श्रीजंग दल गुल्मका हुन् । नारायणदल गुल्मलाई विस्थापित गर्दै श्रीजंग दल गत माघ अन्तमा मात्र रामेछाप पुगेको हो । 'नयाँ ठाउँ भएकाले पनि सैनिकहरू अलमलिएर आगोको भुमरीमा परेको अनुमान गर्न सकिन्छ,' स्थानीय पत्रकार मिनु खड्काले लिम्वूवान डट व्लगस्पोट डटकमसित भनिन् ।

No comments: