News

Apr 27, 2009

गाउँका विद्यार्थीहरुलाई ल्यापटप वितरण गरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कक्षा दुई र तीनका छात्रछात्रालाई ल्यापटप बाँडेको हेर्न गाउभरिका अभिभावक झुम्मिएका थिए । विद्यार्थीले पाएका ल्यापटप एकैछिनमा अभिभावकका हातहातमा देखिए । ६० वर्षीया पार्वती मल्लले नातिनीसँग ल्यापटप मागिन् र ओल्टाइपल्टाइ गरिन् । 'काइदाको जिनिस रै'छ ल्याक्टो भन्ने,' उनी भन्दै थिइन् । अरू अभिभावक पनि दंग पर्दै अन्धाले हात्ती छामेजस्तो गरी ल्यापटम मुसारिरहेका थिए । गत वर्ष तीन महिनासम्म पनि पाठ्यपुस्तक नपाएका विद्यार्थीलाई ल्यापटप वितरण गर्न विश्व खाद्य कार्यक्रमका नेपाल प्रमुख रिचर्ड रेगन नै गाउँ आएका थिए । ल्यापटप बाँड्ने थाहा पाएपछि विद्यालयमा विद्यार्थीभन्दा बढी अभिभावक ओइरिए । विश्व खाद्य कार्यक्रमको साझा शिक्षा ई-पाटी कार्यक्रमअन्तर्गत डडेल्धुराका तीनवटा प्राथमिक विद्यालयमा ल्यापटपमै नेपाली, अंग्रेजी र गणित पाठ्यक्रम राखी पढाउन सुरु गरिएको छ । पाँच जिल्लाका २६ वटा प्राथमिक विद्यालयमा कक्षा दुई र तीनमा पढ्ने हरेक विद्यार्थीलाई ल्यापटप बाँड्ने कार्यक्रमअनुरूप रेगनले डडेल्धुराको कैलपालमाडौं गाविसको जनता प्राविमा आइतबार ल्यापटप बाँडेका हुन् । सन् २०१५ सम्म सबैका लागि शिक्षा कार्यक्रमलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमले ई-पाटीमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न नमुना कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा बालबालिकालाई कम्प्युटर वितरण गर्दै प्रमुख रेगनले प्राप्त साधन-स्रोतको सही उपयोग हुन सक्यो भने अत्यधुनिक शिक्षाको चाँडै विकास हुने बताए । रेगनले ग्रामीण क्षेत्र र सहरी क्षेत्रका बालबालिकाबीच रहेको अवसर र क्षमतामा समानता ल्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे । अवसर पाए भने ग्रामीण भेकका बालबालिकाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्,' रेगनले भने । आफू अमेरिकी नागरिक भए पनि १४ वर्षको उमेरमा मात्र कम्प्युटर देखेको उनले सुनाए । कार्यक्रममा ई-पाटी साझा शिक्षा कार्यक्रमका कार्यकारी निर्देशक रवि कर्माचार्यले विश्वका अधिकांश राष्ट्रमा अहिले पनि कम्प्युटर शिक्षा नपुगेको बताउँदै यस कार्यक्रमको सफलता अभिभावकमा निहीत रहेको विचार राखे । 'विद्यालयमा मात्र ई-पाटीमा पढेर बालबालिकाले सिक्न सक्दैनन्,' कर्माचार्यले भने । क्षेत्रीय शिक्षा निर्देशक नैनसिंह धामी, स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे र जिल्ला शिक्षा अधिकारी पदमसिंह विष्टले पनि कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए । नमुना कार्यक्रमका रूपमा डडेल्धुराको कैलपालमाडौं गाविसको जनता प्रावि, अजयमेरु गाविसको प्रावि र आलीताल गाविसको हम्तड प्राविका एक सय ८० जना बालबालिकालाई कम्प्युटर वितरण गरिएको छ ।

No comments: